काठमाण्डौं – भत्तपुरको मध्यपुरथिमि नगरपालिका ९ निकोसेरास्थित एकाघर परिवारका ३ जनाको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित अधिकारीको परिवारको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
घरको चौथो तलामा ३६ वर्षीय सुदीप अधिकारी, तेस्रो तलामा १५ वर्षीय छोरा सुशान्त र दोस्रो तलामा ३४ वर्षीया श्रीमती सम्झना अधिकारीको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । साथै दोस्रोे तलाको भर्याङ नजिकै कुकुरसमेत मरेका अवस्थामा भेटिएको उनले बताए ।
मृतकका भाइ सुनिल दाजुको घरमा पुग्दा सबैलाई मृत्त अवस्थामा देखे पछि उनले प्रहरीलाई खबर गरेका थिए ।मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले अधिकारी परिवार ३ दिनदेखि बाहिर ननिस्किएको बताए ।
घटनाको बिषयमा प्रहरी विभिन्न कोणबाट अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले अनुसन्धान थालेको छ ।




















