काठमाण्डौं – रातो मछिन्द्रनाथको रथलाई आज पुल्चोकवाट सोह्रखुट्टे पाटीसम्म तानिदै छ ।
जात्रा छोटो बनाउने सहमति अनुसार दिउसो ३ः०० बजे स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित ब्यक्तिको सहभागितामा रथ तान्न लागिएको हो ।
गाःबहालमा राखिएको मीननाथको रथ पनि आजै सोह्रखुट्टे पाटीसम्म पुर्याइने छ । यससँगै रथलाई सांकेतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउने छन् ।
यसअघि जुन ठाँउमा रथ राखिएको सोही ठाँउका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो । यसपालि सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेको हो ।
जात्राका अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नखःत्या अर्थात भोज नबोलाउन र नजान आग्रह गरिएको छ ।
रथ तान्ने विषयमा बिहीबार झडप भएपछि ललितपुर जिल्ला प्रशासनले रातो मछिन्द्रनाथ र मीननाथ रहेको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो । रथयात्रामा समेत धेरैलाई भेला नहुन आग्रह गरिएको छ ।




















