गोरखा – अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने ११ सवारी साधान कारवाहीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले ओसारपसारमा संलग्न ११ सवारी साधानलाई नियन्त्रणमा लिएर कारवाहीका लागि गोरखा नगरपालिका पठाएको हो ।
अवैध नदिजन्य पदार्थ ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा साउन ५ गते देखी आज (शुक्रबार) सम्म ११ सवारी साधनलाई नियन्त्रणमा लिएर गोरखा नगरपालिकामा कारवाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्ष सुरेन्द्रबहादुर गुरुङ बताए । ‘अहिलेसम्म हामीले गोरखा नगरपालिका ११ को बाह्रकिलो भन्ने स्थानबाट अबैध बालुवा सहित उत्खनन गरिएको सामाग्री र त्यस्ता पदार्थ ढुवानी गर्ने ११ वटा सवारीलाई नियन्त्रणमा लिएर कारवाहीकालागि पठाएको’ प्रहरी उपरिक्षक गुरुङले भने ।
प्रहरीले नियन्त्रणमा लिएका ११ ट्याक्टरलाई कारवाही गरेर गोरखा नगरपालिकाले २ लाख १ हजार जरिबाना गरेर छाडेको छ । नगरपालिकाको राजश्व शाखाका अनुसार १० वटा ट्याक्टर २० हजारका दरले जरिबाना गरिएको र एउटा ट्याक्टरमा भने नगन्य मात्रामा मात्र नदीजन्य पदार्थ भएका कारण १ हजार जरिबाना गरिएको जानकारी दिएको छ ।
कारवाहीमा परेको सबै ट्याक्टरलाई अब आईन्दा त्यस्तो कार्य नगर्ने शर्तमा छाडीएको नगरपालिकाको राजश्व शाखाले जानकारी दिएको छ ।




















