गोरखा – गोरखामा ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार अभियान सञ्चालनमा ल्याएको छ ।
प्रहरीले सवारी चेकजाँचमा आफ्नो नम्रता प्रर्दशन गर्दै सबै चालकहरुलाई नमस्कार अभियान शुरु गरेको हो ।
ट्राफिक प्रहरीले पहिलो चरण बिहीबारदेखी सदरमुकाममा सवारी चेक जाँचका क्रममा चालकलाई नमस्कार गरेर मात्र सोधपुछ तथा कागजात माग्ने अभियानको शुरुवात गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
चालकलाई ट्राफिक प्रहरीले गर्ने व्यबहार राम्रो भएन भनेर धेरै गुनासा आयो र प्रहरीको आलोचना हुने गरेको भन्दै अब ट्राफिक प्रहरीले चालकलाई रोक्छ नमस्ते गर्छ अनि मात्र अबश्यक कागज र सोधपुछ गरिने समेत ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यो अभियान केही दिन भित्रै जिल्ला भरी लागु गरिने र लामो समय सम्म सञ्चालनमा ल्याउने कायालयको योजना रहेको छ । अभियानले सवारी चालक र ट्राफिक प्रहरी बिचको सम्बन्ध सुमधुर हुने समेत विश्वास लिईएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मातहातका कार्यालयलाई यस्ता कार्यक्रम सञ्चालनमा ल्याउन पत्राचार गरे संगै गोरखा पनि अभियानको थालनी गरिएको हो । ट्राफिक प्रहरीको बोलीबचन रुखो हुन्छ सभ्य हुदैन भन्नेहरुलाई यो अभियानले अवश्य एक पटक सोच्न बाध्य बनाउने छ ।


























