गोरखा – विश्व चर्चित गोरखाको मनास्लु हिमाल आरोहणका लागि बहराईनका राजकुमार गोरखा आउने भएका छन् ।
राजकुमार नासिरबिन हमाद अल खलिफा यही भाद्र महिनाको अन्तिम साता गोरखा आउने भएका हुन् ।
राजकुमार संग अन्य १७ जनाको टोली हिमाल आरोहणका लागि बहराईन बाट नेपाल आउने तयारी गरिरहेको बहराईन सरकारले पुष्टी गरेको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मनास्लु र लोबुचे हिमाल आरोहण गर्न उनीहरू नेपाल आउन लागेको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले सेप्टेम्बर १५ अर्थात भदौ ३० पछि हुने उनको चार्टर उडानलाई नेपाल आउने अनुमति प्रदान गरिएको छ ।
राजकुमारको हिमाल आरोहणको सम्पूर्ण जिम्मेवारी सेभेन समिट ट्रेक्स प्रालि नाम नेपाली कम्पनीले पाएको लिएको छ ।
राजकुमारको उत्त टोलीले गएको चैत–वैशाखमा नै हिमाल आरोहण गर्न चाहेको भएता पनि कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान पछि सरेको हो ।
राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेर हेलिकप्टर मार्फत सिधै उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आर्लर्ने कार्यक्रम तय भएको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।
राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइने भएको छ । जसमा सर्वाधिक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहने छन् ।
यो आरोहण अभियानमा करिब १५० जना भन्दा बढी शेर्पा प्रत्यक्ष संलग्न हुने अनुमान गरिएको छ । बहराइनका राजकुमारले गोरखाको मनास्ल हिमाल आरोहण सफल गरेमा विश्वभर मनास्लु हिमालको प्रचारमा झनै मद्दत पुग्ने पर्यटन ब्यवसायीहरुको विश्वास रहेको छ ।




















