काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राजधानीमा गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १२ हजार ८८ जनाको स्वाब परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टी भएको थियो ।
उपत्यकामा ४८१ जनामा संक्रमण
काठमाण्डौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाण्डौंमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जना संक्रमण देखिएको हो ।
थप ११ जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले बताएको छ ।



