काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ९२७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ९२७ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १० हजार २२९ जनाको स्वाब पीसीआर परीक्षण गर्दा ५९३ पुरुष र ३३४ महिला सहित ९२७ जनामा संक्रमण पुष्टी भएको जानकारी दिए ।
उपत्यकाका मात्रै ४१५ जनामा संक्रमण पुष्टि
पत्रकार सम्मेलनमा प्रबत्ता डा.गौतमले उपत्यकामा मात्रै शुक्रबार ४१५ जनामा संक्रमण पुष्टी भएको बताए । जस मध्ये काठमाण्डौंमा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना संक्रमित थपिएको छ ।
संक्रमणबाट थप १२ जनाको ज्यान गयो
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।
मोरङका २ जना महिला, भक्तपुर र मकवानपुरका १÷१ जना महिला, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीमा १÷१ जना पुरुषले ज्यान गुमाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।



