काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि देशका धेरै जसो जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
देशभरका आधा भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा र निश्चित सेवा सञ्चालनमा रोक लगाइएको हो ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार २९ जिल्लामा निषेधाज्ञा, ७ जिल्लामा लकडाउन गरिएको छ । २ जिल्ला सिल र सेवा बन्द गरिएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार २१ जिल्लामा पूर्ण र १९ जिल्लामा आंशिक बन्द तथा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमितको संख्या बढेमा सिल, निषेधाज्ञा गर्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिए लगत्तै धेरै जसो जिल्लाहरुमा निषेधाज्ञा जारीगरिएको छ । उनीहरुले स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गरेर निषेधाज्ञा जारी गरेका हुन् ।
मन्त्रालयका अनुसार कास्की, अर्घाखाँची, लमजुङ, गोरखा, बागलुङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, दोलखा, चितवन, रामेछाप, पाल्पा, सुर्खेत, उदयपुर, तनहुँ, धनकुटामा निषेधाज्ञा छ भने रुकुम पश्चिम, धादिङ, कपिलवस्तु, मकवानपुर, रूपन्देही, रौतहट, काठमाण्डौं, ललितपुर, भक्तपुर, झापा, दार्चुला, मोरङ, बर्दिया, जुम्ला, सिरहा, स्याङ्जामा प्रशासनले ठाँउ अनुसार निषेधाज्ञा जारी गरेको छ ।
यता सर्लाही, सुनसरी, महोत्तरी, बारा, पर्सा, बाँके, नुवाकोट, सप्तरी र धनुषामा कतै पूरै र कतै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।


