काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मंगलबार विभिन्न जिल्लामा ३ जनाको ज्यान गएको छ ।
प्राप्त विवरण अनुसार बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काभ्रेको धुलीखेलमा उपचाररत ३ जनाको ज्यान गएको पुष्टी भएको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको हो । सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
साउन ३२ गतेदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबारमा उनमा कोरोना सत्रंmमण पुष्टि भएको थियो ।
त्यस्तै गरी तनहुँकी एक संक्रमित महिलाको पोखरामा उपचारको क्रममा ज्यान गएको छ । तनहुँ ब्यास १ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
उनी साउन २१ गते उपचार भर्ना भएकी थिइन् । संक्रमित महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको समस्या भएको अस्पतालले जनाएको छ ।
यता संक्रमणकै कारण काभ्रे धुलिखेल नगरपालिका ७ का ९८ वर्षीय वृद्धको गएराति धुलिखेल अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको छ ।
उनलाई साउन २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


