रोल्पा – रोल्पाको रुन्टिगढी गाउँपालिकामा श्रीमानले श्रीमतीलाई कुटपिट गर्दा गर्भमा रहेको शिशुको ज्यान गएको छ ।
रुन्टिगढी गाउँपालिका ३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया श्रीमती कुमारी विक गम्भीर घाइते भएको छ । घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा ७ महिनाको मृत शिशु जन्मिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार कुटाइबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । अहिले घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ ।
श्रीमती कुटपिट गर्ने कुले विकलाई प्रहरीले नियन्त्रणमा लिएको होलेरी प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भई रहेको र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले जनाएको छ ।


