गोरखा – जनता समाजबादी पार्टीले गोरखाको भीमसेन थापा गाउँपालिकाले गरेको खर्च बिवरण माग गरेको छ ।
पार्टीको गाउँपालिका स्तरीय समितिले कार्यक्रम र सम्पन्न योजनाहरुको विवरण माग गरेको हो । पार्टीले आब २०७६÷०७७ को कार्यक्रम र सम्पन्न योजनाहरुको खर्च बिवरण माग गरेको अध्यक्ष रोहित पाण्डेले बताए । ‘नागरिकहरु प्रति जनउत्तरदायी बनाउन र सुशासन कायम गर्न गराउन पनि पार्टीले यो कदम चालेको’ अध्यक्ष पाण्डेले भने ।
स्थानीय सरकारलाई दायित्व बोध गराउन, अनुगमन र मूल्याङकलाई पारदर्शी बनाउन पनि पार्टीले यो कदम चाल्नु परेको भन्दै सूचनाको हक प्रयोग गरेर योजना तथा कार्यक्रमहरु माग गरिएको पार्टीले जनाएको छ ।
पार्टीले पालिकामा निवेदन दर्ता गराउदै बेरुजु भएको रकम, सम्पन्न भएका सवै नीति तथा योजना, एनजिओ तथा आइएनजिओको कार्यक्रमहरु, योजनाको बिवरण उपलब्ध गराउन निवेदनमा भनिएको छ ।
गाउँपालिकाले योजनाको अनुगमन प्रभावकारी रुपमा नगरेको, नक्कली कागजपत्रको आधारमा योजनाको बिल भुक्तानी गरेको आरोप लगाउदै जसपा गाउँपार्टीले निवेदन दर्ता गराएको जनाएको छ ।


