गोरखा – पूर्व प्रधानमन्त्री तथा समाजवादी जनता पार्टीका बरिष्ठ नेता डा.बावुराम भट्टराईले अहिले सरकार उल्टो दिशातर्फ गएकोले देश र जनता धरापमा परेको बताएका छन् ।
गृह जिल्ला गोरखा आएका डा.भट्टराईले सरकार देश र जनताको आवश्यता भन्दा बाहिर गएको आरोप लगाउदै त्यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीको प्रार्थमिकता अस्पताल बनाउने र उपकरणहरु खोज्ने, भ्यान्टीलेटर ब्यवस्था गनुपर्ने हो तर वहाँ त राम मन्दिर बनाउने कुरालाई प्रार्थमिकता दिने र अयोध्या खोज्न लागेको’ आरोप लगाउदै ‘मन्दिर बनाउने बेला हो कि अस्पताल बनाउने बेला हो ? त्यस कारण वहाँहरु उल्टो दिशातर्फ गएर देश र जनतालाई धरापमा पार्ने काम गरेको’ भन्दै डा.भट्टराईले आरोप लगाए ।
जिल्ला सदरमुकाममा रहेको गोरखा अस्पताल र पालुङटारमा रहेको आँपपिपल अस्पताललाई ल्याबमा प्रयोगमा आउने मेशिन हस्तान्तरण गर्न आएका उनलाई सरकारलाई के सुझाब दिनु हुन्छ त ? भन्ने सञ्चारकर्मीहरुको जवाफमा ‘सुझाब दिएर भालुलाई पुराण सुनाएको जस्तो मात्र हुने’ भन्दै ‘पिसिआर टेष्ट ब्यापक रुपमा गराउनुपर्ने’ बताए ।
सरकार प्रति निकै आक्रोश देखिएका भट्टराईले ‘सरकार दृष्टीबिहिनहरुले हात्ति छामेको जस्तो भएको’ भन्दै ‘नेपालमा कोरोना प्रवेश गरेको पाँच महिना हुदा पनि केही भेउ नपाएको’ बताए ।
उनले आगामी दिनमा कोरोना अझै बढ्ने संभावना भएकोले सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने र चिन्तन फेर्न आवश्यक रहेको बताए ।
डा.भट्टराईले आजै जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्थामा जानकारी लिएका थिए ।
अस्पताललका लागि प्रदान गरिएको मेशिनले ३६ प्रकारका रगतका नमूना परिक्षण गर्न सक्ने छ ।


