अभिनेता निखिल उप्रेती एक समयका व्यस्त कलाकार हुन् । डेब्यू फिल्म ‘पिँजडा’मा सात तलाबाट हाम फालेर ‘एक्सन’ गरेकै कारण एकाएक उनी चर्चामा आएका थिए ।
बलिउडमा लामो समय कामको अनुभव बटुलेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका निखिका ३५ वटा फिल्म लगातार बक्स अफिसमा हिट सावित भए ।
अहिले निखिलले फिल्मको सुटिङ नगरेको तीन वर्ष भइसक्यो । फिल्म क्षेत्रबाट टाढा रहे पनि निखिलको स्मृतिमा त्योबेलाका सुटिङका रमाइला क्षणहरु ताजै छन् ।
सुटिङमा रमाइलो गर्थे निखिल । क्यामेरा र रिफ्लेक्टर देख्नेबित्तिकै उनलाई आनन्द लाग्थ्यो । सबैजनासँग घुलमिल गर्नेपर्ने स्वाभावका थिए उनी । त्यतिबेला सुटिङस्थल वनभोजझैं हुने उनको अनुभव छ ।
‘म त जहाँ काम गर्छु त्यहाँ रमाइलो गर्नुपर्ने स्वभावको छु । त्यतिबेला सुटिङ सधैँ पिकनिक जस्तै हुन्थ्यो । सुटिङमा एक त सुन्दर ठाउँमा लगिन्छ,’ उनले भने ।
सुटिङस्थलमा दर्शकहरु उनलाई नै हेर्न झुम्मिन्थे । विशेष मानसम्मान पाउँथे । ‘हिरो’ भएपछि त सुटिङ सेटमा उनको सान बेग्लै हुन्थ्यो । ‘सुटिङमा हिरो भनेर मख्ख पारिदिन्छन् ।
सुटिङ नगरेको यत्रो वर्ष पनि ती दिनहरु सम्झँदै मख्ख पर्छु म,’ उनले सुनाए । २० वर्ष यस क्षेत्रमा सक्रिय रहँदा उनलाई सुटिङका लागि मनपर्ने स्थान बन्यो पोखरा ।
आफ्नो ५० भन्दा बढी फिल्मको सुटिङ पोखरामै गरेको उनी सुनाउँछन् । त्यसैले पोखरासँग सुटिङका धेरै यादहरु रहेको उनी बताउँछन् । ‘पोखरामा गइसकेपछि छेउको जोमसोम जान पाइन्थ्यो ।
मलाई त सुटिङ त्यसैले जहिल्यै पोखरामै होस् भन्ने लाग्थ्यो,’ निखिल भन्छन्, ‘त्यो सानो सहर त्यहीमाथि आवादी पनि कम ।
मेरो त स्वाभाव नै एक्लै शान्त ठाउँमा बस्ने भएकोले गर्दा पनि जनसंख्या कम भएको ठाउँ मेरो मनपर्ने ठाउँमा पर्थ्यो ।’


