बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या जस्तो ठूलो कदम उठाएपछि बलिउडमा एकपटक फेरि नेपोटिज्मको विषयमा बहस चर्किएको छ ।
अभिनेत्री कंगना रनावतले बलिउडमा मौलाएको नातावादका कारण सुशान्त डिप्रेसनको शिकार भएको र आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि यस विषयमा बलिउड फिल्मकर्मीबीच तर्क-वितर्क भैरहेको छ ।
सुशान्तको निधनपछि बलिउडमा सल्किएको परिवारवादको बहसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो बन्न सकेन ।
अभिनेत्री नम्रता सापकोटाले गएको हप्ता फेसबुकमा एक भिडियो पोस्ट्याउँदै नेपाली फिल्म क्षेत्रमा पनि नातावाद व्याप्त रहेको र यसले प्रतिभावान कलाकारहरुलाई अगाडि बढ्न रोकिरहेको बताएकी थिइन् । तर, उनको यो भनाईमा थोरैले मात्र समर्थन जनाएका छन् ।
नातावाद (नेपोटिज्म) को विषयमा नेपाली फिल्मकर्मीहरुले फरक-फरक धारणा राखेका छन् ।
फिल्म क्षेत्रमा नातावाद नभएको तर समुहवादको समस्या रहेको कतिको तर्क छ ।
भने, कतिले यहाँ कुनै पनि ‘वाद’ नभएको ठोकुवा गरेका छन् ।
यो विषयमा अहिलेसम्म फिल्मी परिवारबाट आएका कलाकारहरुले भने आधिकारिक रुपमा आफ्नो भनाई सार्वजनिक गरेका छैनन् ।




















