कोभिड १९ का कारण तीन महिनादेखि जारी लकडाउन अहिले लुजडाउनमा परिणत भएको छ । तर, कोरोनाको भयले अझै मानिसहरु निर्भिक रुपमा घरभन्दा बाहिर निस्कन सकेका छैनन् । अभिनेता अनमोल केसी पनि गएको तीन महिनादेखि घरभित्रै सीमित छन् । यद्यपि, उनी हप्तामा एक-दुईपटक बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न पुग्ने गर्दछन् ।
लकडाउनअघि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । यसपछि फिल्म ‘पारस’ का लागि समय दिने उनको सोच थियो । तर, कोरोनाले सबै योजना भताभुङ्ग बनायो । लकडाउनपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकियो । अब, लकडाउन खुलेपछि उनले यो फिल्मको बाँकी छायांकन सक्नेछन् । यसमा उनको जोडी सुहाना थापासँग बाँधिएको छ ।
कोरोनाका कारण जारी लकडाउनले अधिकांश कलाकारको जीवनचर्या फेरिएको छ । तर, अनमोलको दिनचर्यामा भने कुनै परिवर्तन आएको छैन । अन्य समयमा पनि घरभन्दा बाहिर कमै निस्कने उनी लकडाउनको समयमा भागवत गीता पढेर र म्यूजिक सुनेर दिन काटिरहेका छन् । केही समय आफूले पालेको कुकुरसँग खेल्ने गरेका उनी फिल्म हेरेर पनि दिन काट्ने गर्दछन् ।


