गएको वर्ष नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभागबाट कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिन विश्व संगीत दिवस भव्यताका साथ मनाइएको थियो। तर यो वर्ष कोरोना महामारीका कारण लकडाउनले नेपालमा मात्र होइन, कुनै पनि देशमा संगीत दिवस मनाउने माहोल रहेन।
हरेक वर्ष जुन २१ मा विश्वभर संगीत दिवस मनाइन्छ। परम्परागत तथा शास्त्रीय संगीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘लकडाउनले यसबीचमा संगीतमात्रै होइन, कुनै पनि दिवस मनाउन सम्भव भएन। तर लकडाउनको बीचमा नेपाली संगीतमा पनि नयाँनयाँ प्रयोग हुनु खुसीको कुरा हो।’ उनका अनुसार मुखैले बाजा बजाएर एकापेला गीतको रिलिजदेखि विभिन्न कविले संगीतको पृष्ठभूमिमा सामाजिक सञ्जालमा कवितावाचन गरेर संगीत र कविताको उचाइ बढाए। कोरोनालगायत अन्य महामारीमा सचेत हुनुपर्ने जागरण गीत यस बीचमा आए।
मान्छे खुसीमा मात्र होइन, दुःखमा पनि संगीत सुन्न रुचाउँछ। नेपालका विभिन्न जातजातिमा बिहेभोजमा मात्रै होइन, मृत्युमा पनि संगीत बज्छ। यसरी साथीभाइको जमघट होस् या एक्लोपन संगीत जुनै अवस्था र परिस्थितिमा पनि साथ रहन्छ।
विडम्बना यस वर्ष विश्व संगीत दिवसका दिन सुनसान रह्यो। जबकि गएको वर्ष ‘म्युजिक इज एट इन्टरसेक्सन’ को नारा दिएर संसारभरका एक सय २० देशका सात सय सहरमा विश्व संगीत दिवस मनाइएको थियो।




















