काठमाडौं । अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) भने उपविजेता बनेका छन् । आज भएको फाइनलमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेश भने टप २ मा पुगेर भोट कम आउँदा उपाधि चुम्न चुकेका हुन् । उनी अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।
काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । अडिशन राउण्डबाटै उत्कृष्ट प्रस्तुति दिँदै टप १० मा पुगेका उनी त्यसपछि टप ७ हुँदै उत्कष्ट २ मा परेका थिए । लकडाउनका कारण पछिल्ला दुई शृंखलामा प्रतियोगीले घरबाटै प्रस्तुति दिने व्यवस्था मिलाइएको थियो । फाइनलमा पनि यही तरिका अपनाइएको थियो । टप ५ प्रतिस्पर्धीले घरबाटै गाएका थिए भने जजहरूले पनि घरबाटै हेरेका थिए । भिडियो कन्फरेन्समार्फत १८ औं अमेरिकन आइडलको घोषणा गरिएको हो।
अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?
उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरूमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।
उनले पहिलो अडिसनबाटै निर्णायकहरूलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो । यो सिजनको एक मात्र महिला प्रतिस्पर्धीका रूपमा अगाडि बढ्दै आएकी उनले पहिलो अडिसनबाटै निर्णायकहरूलाई प्रभावित पार्दै आएकी थिइन् ।





















