काठमाडौं– कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन गरेको आज ११ दिन भयो । लकडाउनले सर्वसाधारणदेखि सेलिब्रेटीसम्मलाई घरभित्रै बस्न बाध्य बनाएको छ । सरकारले अझै एक साताका लागि लकडाउन थप्ने सम्भावना प्रवल छ । लकडाउनको क्रममा घरमा बसेर धेरैले धेरै प्रकारका कामहरु गरे । सामाजिक सञ्जालमार्फत ती सबै कामहरु हामीले नियाल्ने मौका पाइरहेका छौं ।
यसबीच कलाकर्मी डटकमले लोकप्रिय गायक रामकृष्ण ढकालको लकडाउन डायरी बनाउने निर्णय गरेको छ । दिउँसो कलाकर्मी प्रतिनिधिसंग कुराकानी गर्दै गायक ढकालले आफ्नो लकडाउन जीवन वर्णन गरेका छन् । उनको लकडाउन डायरी उनकै शब्दमा : सम्पूर्ण नेपाली झैं म पनि लकडाउन भएको दिनदेखि आफ्नै घरमा बसिरहेको छु ।
जसरी म नियम अनुसार घरभित्रै बसिरहेको छु, त्यसैगरी सम्पूर्ण नेपालीहरुलाई समेत घरभित्रै बस्न आग्रह गर्दछु । घरमा बस्दा म सामान्य मानिसहरुले गर्ने काम नै गर्दैै आइरहेको छु । लकडाउन हुनुभन्दा एक दिन अघिसम्म पनि म अत्यधिक व्यस्त थिएँ । त्यसकारण लकडाउनभन्दा अघि ढुक्कले, फुर्सदले, वीदा मनाउने गरी घरमा बसेको मलाई सम्झना नै छैन । त्यसैले मैले अहिलेको यो लकडाउनलाई एउटा अवसरको रुपमा समेत लिएको छु ।
कलाकार भएपछि प्रायः घरमा बस्न पाईंदैन । सांगीतिक कार्यक्रमको क्रममा देश–विदेश दौडिरहनु पर्छ । यो लकडाउनले नै अहिले हामी सबैलाई घरमै बस्ने अवस्था सिर्जना गरेको छ । घरमा बसेको बेला के–के गर्छु भन्ने कुरा शब्दमा वर्णन गर्नै सक्दिन । अहिले लकडाउनको बेला म प्रायः बिहान उठ्ने बित्तिकै केही समय ब्यायाम गर्छु । आफूलाई फिट राख्नका लागि व्यायाम अनिवार्य जस्तै भएको छ । त्यसपछि केही समय रियाज गर्छु ।
नियमित गर्ने यी दुई काम सकिएपछि म घरको सरसफाइ पनि गर्छु । मलाई सरसफाई एकदमै मनपर्छ । म घरको हरेक कुनाकाप्चा हेरेर सफा गर्ने गर्छु मलाई खालि बस्न मनपर्दैन । घरको मान्छेलाई पनि एक किसिमले सताई रहेको हुन्छु । यो गर, त्यो गर भनेर भनिरहेको हुन्छु । खाना खाएपछि दिउँसो आफूलाई हेर्न मन लागेका फिल्महरु हेर्छु । विगतमा व्यस्तताका कारण थुप्रै वटा फिल्महरु हेर्न पाइएको थिएन, अहिले ती फिल्महरु खोजि–खोजि हेर्छु ।
यूट्युबमा भिडियोहरु हेर्छु । मलाई खाना बनाउन पनि मनपर्छ । धेरै नखाए पनि मिठो खानु पर्ने हुँदा पकाउने–खाने काम पनि भईरहेको छ । अहिले म कहिलेकाहिं मटन करि बनाउँछु भने खसीको मासु पक्कु जस्तो बनाउँछु । लकडाउनको बेला भए पनि हरियो साग–सब्जि चाहिं कहिले छुटाएको छैन ।
लकडाउन हुनुभन्दा एक दिनअघि सम्म पनि म नेपाल स्टारको छायांकनमा व्यस्त थिएँ । राति ढिला–ढिलासम्म उक्त कार्यक्रमको छायांकन हुने भएकाले निकै थाकिएको थियो ।
त्यसअघि चीन लगायत विभिन्न देशहरुमा कोरोनाको प्रकोपकै बीचमा मैलृ अष्ट्रेलियाको कार्यक्रममा पनि सहभागिता जनाएँ । उताबाट फर्किएपछि पनि केही कार्यक्रमहरुमा सहभागिता जनाएको थिएँ, केही रेकर्डिङहरु पनि बाँकी थियो, त्यो पनि सिध्याएर ठ्याक्कै बसेको थिएँ, मंगलबारदेखि लकडाउन घोषणा भएपछि घरमै बस्न बाध्य भएको छु । लकडाउनको सदुपयोग गर्नका लागि म सांगीतिक कर्ममा पनि सक्रिय भैरहेको छु ।
मैले पहिला केही गीतहरुको थिम बनाएको थिएँ, अहिले म केही गीतहरुको धून समेत तयार पारिरहेको छु । लकडाउन लगत्तै मैले संगीतबद्ध गरेका केही गीतहरु समेत आउने सम्भावना छ । लकडाउन भन्दाअघि मेरो सुत्ने टाइमटेबल पनि अस्तव्यस्त थियो । अहिले त म ७ देखि ८ घण्टासम्म सुतिरहेको छु ।
लकडाउनमा मेरो दाह्री र कपाल चाहिं लामो–लामो हुँदै गएको छ । म प्रायः दुई हप्तामा कपाल काट्थें, यसपटक चाहिं मेरो कपाल अलि लामै हुन्छ जस्तो छ । झण्डै एक महिना नै हुन थालि सक्यो कपाल नकाटेको, दाह्री नमिलाएको पनि । त्यसैले अहिले म आफूलाई ऐनामा हेरेर झस्किरह्न्छु । रमाइलो कुरा चाहिं के हुन सक्छ भने मेरो यो बढेको केश तथा दाह्रीले केही नयाँ स्टाईल भने पक्कै दिने छ भन्ने लागेको छ ।
अन्त्यमा, कारोना भाइरसको कारणले अहिले सबैजना होम क्वारेन्टाइनमा छौं । म सबै जनालाई के बिन्ति गर्न चाहान्छु भने सरकारले लगाएको यो लकडाउन भनेको पूर्ण रुपमा हाम्रो लागि नै हो । सरकारले हाम्रै स्वास्थका लागि यो गम्भिर कदम चालेको हो । यो संकटको घडीमा सरकारले श्रमिकहरुका लागि समेत राहतको घोषणा गरिरहेको छ । सर्वसाधारणहरुले पनि सरकारलाई साथ दिनु पर्ने बेला आएको छ । सबैजना सुरक्षित रहनु होला । धन्यवाद ।


