नरेन्द्र ढकाल
गोरखा – जिल्लाका प्रमुख सरकारी कार्यालय आगनमै पानी जमेको महिनौं भएसकेको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र अदालतको वीचमा रहेको सडकमा पानी जमेर पोखरी निर्माण भएको छ ।
गोरखा नगरपालिकाको सामाजिक बिकास शाखा र वडा नम्बर ६ को कार्यालय, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखा, नापी कार्यालय, सरकारी वकिलको कार्यालय, कारागार गोरखा लगायतका सरकारी कार्यालय जाने बाटोमा लामो समय देखि पानी जमेपछि आवातजावतमा समस्या भएको छ ।
यसैगरी मोर्डन इङिलस बोर्डिङ स्कूल हरमटारी गोरखाका विद्याथीहरु पनि सोही बाटो भएर हिड्छन । ‘बच्चाहरुलाई स्कूल ल्याउने लैजाने गर्न साह्रै गारो भएको छ’ त्यहाँ भेटिएकी रोशनी गुरुङले भनिन् ‘गाडीले पानी छ्यापेर कति पटक हिलै बनाइसक्यो, पानीमा टेकेर हिड्नु पर्ने पर्छ ।’ नालीको पानी जम्मा भइ बनेको पोखरी गनाएर सरकारी कार्यालय पुग्ने सेवाग्राहीहरु नाक छोपेर हिड्नु पर्ने बाध्यता छ । ‘यो समस्या अदालतको भवन निर्माणले निम्तिएको हो’ प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले भने ‘भवनको सुनिता जी र स्वम् ठेकेदारलाई समेत बोलाएर पटक पटक तत्काल समस्याको समाधान गर्न पटक÷पटक निर्देशन दिइसकेको छु ।’
जिल्ला अदालतको भवन पुर्ननिर्माणको लागि सडकको छेउमा निर्माण सामाग्री थुपारिएको छ । जसले गर्दा पानीको निकास बन्द हुन गई बारिएको हो । यस अघि जिल्ला प्रशासन कार्यालय निर्माण गर्दा पनि त्यहाँकी नाली भत्किएको थियो । सिंचाई कार्यालयको छेउमा रहेको पानीको निकास पनि बन्दभएपछि उक्त समस्या निम्तिएको स्थानीयले बताएका छन् । ‘ठेकेदारले प्रयास गरिरहेको छ ।
तर निकास भेटिएको छैन’ जिल्ला आयोजना कार्यान्वयन इकाई भवनकी प्रमुख सुनिता श्रेष्ठले भनिन ‘भोली फेरी मेसिन ल्याएर खोल्छु भनेको छ । अब छिट्टै यो समस्याको समाधान हुन्छ ।’ अदालतको भवन निर्माण सकिएपछि पानीको निकास खोल्ने र भत्किएको सडक ढलान गर्ने तयारी गरिएको उनले बताइन् । अत्यान्त भिडभाड हुने सडकमा पानी जमेका लामो समयसम्म सरोकारवाला निकायले उचित ध्यान नदिदाँ सेवाग्राही र कर्मचारी समेत समस्यामा परेका छन् ।




















