गोरखा समाचारदाता
गोरखा – शान्ति समाज गोरखाले नेपालको जमिन भारतीय नक्सामा परेकाले श्वेतपत्र जारी गर्न मागगर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरर्बारका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई शान्ति समाज गोरखाले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै ‘भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्शामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आहात भएको छ ।’ भनिएको छ ।
समाजका जिल्ला अध्यक्ष विश्वनाथ वाग्लेको नेतृत्वमा गएको एक टोलीले प्रमुख जिल्ला अधिकारी लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, कालापानीबाट तत्कालै भारतीय सेना फिर्ता जानु पर्छ, भारतले प्रकाशित गरेको नयाँ राजनैतिक नक्सा तुरुन्त सच्याउनु पर्छ’ भन्दै ‘यस संवेदनशील बिषयमा नेपाल सरकारले कुटनितीक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पुर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न सम्माननीय प्रधानमन्त्री ज्यूलाई आग्रह गर्दछौ ।’ भनिएको छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी लामिछानेले तत्कालै प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयमा पुग्ने गरी पत्र पठाईने बताए ।
ज्ञापनपत्र बुझाउनका लागि पूर्व अध्यक्ष स्थानेश्वर दुवाडी, यदु अधिकारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।





















