एजेन्सी
काठमाडौं – इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने भएको छ । इरानले एक विज्ञप्तीमार्फत परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमा नमान्ने घोषणासमेत गरेको छ । तेहरानमा भएको मन्त्रिपरिषद् बैठकले यस्तो घोषणा गरेको हो ।
सन् २०१५ मा भएको सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन कार्यक्रम सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । अब भने इरानले सम्झौताअनुसार युरेनियम भण्डारण र प्रवद्र्धनका लागि तोकिएको मात्रा मान्ने छैन ।
अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य जनरल कासीम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यस्तो भनाइ आएको हो ।




















