गोरखा समाचारदाता
काठमाडौं – कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड रुपैयाँ निकालेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाल रहेका छन् ।
भारतीय र नाइजेरियाका नागरिकहरुसँग मिलेर उनले भारतको मुम्बईमा बसेर नेपालका बैंकहरुको सिस्टम ह्याक गरेर रकम निकाल्दै आएका थिए ।
उनले पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको प्रहरीले जनाएको छ । नेपालका बारेमा महानगरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ । कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा यसअघिपनि प्रहरीले १ दर्जन भन्दा बढीलाई पक्राउ गरेको थियो ।
बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको फेला परेपछि प्रहरीले यसवारेमा अनुसन्धान शुरु गरेको थियो ।


