गोरखा समाचारदाता
काठमाण्डौं – देशका विभिन्न ठाउँमा आज (बिहीबार) पानी र हिउँ पर्ने सम्भावना रहेको देखिएको छ । मौसमविद्हरुले चिसो बढने भन्दै चिसोबाट जोगिन सबैलाई आग्रह समेत गरेको छ ।
पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ।
सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौषम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने शाखाले जानकारी दिएको छ ।
शुक्रबार देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ । तर लगातार झरीको सम्भावना भने नरहेको शाखाले जानकारी दिएको छ । वर्षा र हिमपात भएसँगै देशभरि नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न शाखाले सबैलाई सुझाव दिएको छ ।


