गोरखा समाचारदाता
गोरखा – बहु चर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको चरम लारर्वाहीले स्थानिय हैरान भएकाछन । आयोजनाले जग्गा अधिग्रहण गर्दा होस वा मुआब्जा बितरण गर्दा होस । स्थायिनले भोगेको सास्तीको कुनै सिमा नै छैन ।
पछिल्लो पटक आयोजना अन्तर्गत डुबानमा पर्ने जग्गाको मुआब्जा सम्वन्धीत ब्यक्तिको खातामा हालिदिनुको साटो अर्के ब्यक्तिको खातामा हालिदिए पछि त्यहाँ भित्र हुने लापरवाही छताछुल्ल भएको हो ।
धादिङ जिल्लाको साविकको सल्यानटार गाउँ विकास समितिका जीवन गिरिको जग्गाको मुआब्जा सोही ठाउँका कृष्ण, शिव, गुरु र राम उप्रेतीको नाममा बैंक जम्मा गरिदिए पछि विवाद समेत उत्पन्न भएको छ ।
डुबानमा पर्ने जग्गाको सूची गोरखापत्रमा निकाल्दा जीवन गिरिको जग्गाको कित्ता नम्बर ३ (क) १४२ नम्बर उल्लेख गरिएको थिएन । गिरिले डुबानमा पर्ने आफ्नो अन्य जग्गाको मुआब्जा बुझिसक्दा कित्ता नम्बर १ सय ४२ नम्बरको जग्गाको मुआब्जा छुटेपछि खोजबिन गर्दै जाँदा मुआब्जा रकम नै उप्रेती परिवारको नाममा गएको प्रमाण भेटिएको जिवनका छोरा भोज गिरिले बताए।
जीवन गिरिको कित्ता नम्बर १४२ मा १ रोपनी १४ आना जग्गा रहेको छ । तर उप्रेती परिवारले आफ्नो बाबुको जग्गाबाट अंशवण्डा गरी जग्गा कित्ताकाट गरेर लिने बेलामा मालपोत कार्यलय धादिङको लापरवाहीको कारण ३४२ नम्बरको जग्गा कित्ताकाट गर्नुपर्नेमा जीवन गिरिकै १ सय ४२ नम्बर कित्ताको जग्गा कित्ताकाट गरिदिएपछि गिरिको जग्गा उप्रेती दाजुभाइको नाममा पुगेको हो ।
मालपोतको रेकर्डमा हेर्दा १ सय ४२ नम्बरको जग्गा जीवन गिरिकै नाममा देखिएको छ भने त्यही जग्गालाई कित्ताकाट गरेर ६२२, ६२३, ६२४ र ६२५ नम्बर कित्तामा गएको देखिएको छ ।
पछि बुढीगण्डकी आयोजनाको डुबानमा पर्ने भएपछि आयोजनालाई सोही लालपूर्जा उप्रेती परिवारले बुझाएको र उनीहरुकै नाममा जग्गा देखिएपछि बुढीगण्डकी आयोजनाले पनि मुआब्जा उप्रेती दाजुभाइकै नाममा हालिदिएको हो । आफ्नो १४२ नम्बर कित्ताको मुआब्जा छुटेको भनेर खोजबिन गर्दै जाँदा अरुले नै मुआब्जा बुझिसकेको फेला परेको जीवनका छोरा भोज गिरिले बताए ।
उनले भने ’मालपोत कार्यालयको सवैखाले रेकर्डमा हेर्दा जग्गा हाम्रो हो भन्ने प्रमाण छ, तर मुआब्जा लिने बेलामा चाहि उप्रेती परिवारले बुझिसकेछन् ।’ उक्त जग्गाको मुआब्जा करिब १० लाख ५० हजार रुपैयाँ आउने भोजले बताए । मालपोत कार्यलय धादिङले भने जग्गा कित्ताकाट गर्ने बेलामा प्राविधिक कारणबस गल्ती भएको देखिएको र त्यसलाई सच्याइ सकिएको बताएको छ ।
मालपोतबाट जग्गाधनी प्रमाणीत भएर आएका लालपुर्जाको नाममा मात्रै मुआब्जा वितरण गरिने भएकाले जसको नाममा लालपूर्जा कायम भएर आउँछ, उसैलाई मुआब्जा पठाइएको बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्यलयका प्रमुख कृष्ण कार्कीले बताए ।


