गोरखा समाचारदाता
गोरखा – जिल्ला सदरमुकाम आसपास बिक्री भरहेका तरकारीमा ३५ प्रतिशत भन्दा बढि विषादी रहेको तथ्य फेला परेको छ । कृषि ज्ञानकेन्द्रले गरेको बजार अनुगमनमा लिएको नमूना परीक्षणको रिर्पोट आएसँगै उक्त तथ्य सार्वजानिक भएको हो । ‘अन्य तरकारीमा पनि विषादीको मात्रा छ नै’ कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाले भनिन् ‘गोलभेडा जुकुनी फर्सी र च्याउमा विषादीको मात्रा उच्च रहेको देखियो ।’
गत शुक्रबार कृषि ज्ञानकेन्द्रकी प्रमुख थापाको नेतृत्वमा गोरखा नगरपालिका र विषादी प्रयोगशाली आँबुखैरेनीको प्राविधिक टोलीले गोरखा बजारका १० वटा तरकारी पसलमा अनुमन गरेको थियो । अनुगमन टोलीले गोलभेडा, भेडे खुर्सानी, च्याउ, काक्रो, केरा, काउली, भेण्टा, आलु, सिसी, जुकुनी फर्सी लगायत १० वटा तरकारी नमुना संकलन गरेको थियो ।
‘यहाँ विक्रि भइरहेको गोलभेडा जुकुनी फर्सी र च्याउमा ३५ प्रतिशत भन्दा बढि विषादी भेटियो । यो तत्काल खान योग्य तरकारी होइन’ उनले भनिन् ‘यसलाई खान त सकिन्छ, तर घरमा लगेर केही दिन राख्नु पर्छ । यस्ता खालका तरकारीहरु फ्रेस भन्दा ४/५ दिन भण्डारण गरेको राम्रो हुन्छ ।’ पकाउनु अघि केही घण्टा पानीमा डुबाएर राखेपनि विषादी कम गर्न सकिने उनले बताईन् ।
४५ प्रतिशत भन्दा बढि विषादी भएको तरकारी भने पूर्ण रुपमा खान अयोग्य रहेको थापाको भनाई छ । अनुगमनका क्रममा त्यस्तो खालको तरकारी भने फेला नपरेको उनले स्पष्ट पारेकी छिन् । विषादीको अवशेष बढि देखिएका गोडभेडा र जुकुनी फर्सी नारायणगढबाट ल्याएको तथ्य खुलेको छ । च्याउ भने गोरखाकै उत्पादन रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
‘ठूलो भोलुममा उत्पादन गर्नेहरुले एकैपटक धेरै नाफा लिन यस्तो गरेका हुन्छन, त्यसबाट हामी सचेत हुनुपर्छ’ उनले भनिन् ‘बाहिरबाट जिल्ला भित्रिएका तरकारीहरुलाई कडाईका साथ आँबुखैरनीमा क्वारेन्टाइन चेक गर्न आग्रह गरेका छौं ।’ उक्त क्रममा विषादीको मात्रा धेरै पाइएमा फिर्ता पठाउने वा केही दिन राखेर विषादीको प्रभाव कम भएपछि जिल्ला ल्याउन सकिने उनको भनाई छ ।
जिल्लामा पहिलो पटक अनुगमन गरिएकाले बिक्रेताहरुलाई पनि सचेत गराइएको थापाले बनाईन् । आगामी दिनमा सोही प्रकृतिका घटना दोहोरिएमा कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्ला सदरमुकाममा नारायणगढ, हेटौंडा, फिस्लिङ, तनहुँको याम्पाफाट लगायतका स्थानबाट तरकारी भित्रिने गरेका छन् । जिल्लाको उत्पादनले यहाँको माग थेग्न सक्ने अबस्था छैन् ।


