राजधानी
काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको आज ७५ औं जन्मजयन्ती हो । प्रत्येक वर्षको पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मजन्ती पर्छ । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो ।
उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको ठानिन्छ ।
तत्कालीन राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा राजावादीहरुले विभिन्न कार्यक्रम गरी सोमबार मनाउँदैछन् । तत्कालीन राजा वीरेन्द्रको जन्मजन्तीबारे राज्य बेखबर रहे पनि सामाजिक सञ्जालमा उनको परिवारसहितको तस्बिर छ्याप्छयाप्ती छ ।
जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति श्रद्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका थिए ।


