गोरखा समाचारदाता
गोरखा –गोरखा नगरपालिका १ मा भएको लोकनृत्य प्रतियोगितामा देवीस्थान आमा समुह पहिलो बनेको छ ।
देवस्थान महिला समुहकै आयोजना भएको प्रतियोगितामा अकला देवीथान आमा समुह दोस्रो, कालीका देवी आमा समुह तेस्रो र जनजागरण आमा समुह सान्त्वना भएको हो । विजयी समुहहरुले क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार नगद पाएका छन् ।
समुहकी अध्यक्ष जानुका केसीको अध्यक्षतामा भएको परिचयात्मक तथा नृत्य प्रतियोगितामा गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले कमजोर सोचका कारण महिला पछि पर्नु परेको बताइन ।
महिलाहरु घरभित्र मात्रै सिमित बन्नुपर्ने बाध्यताको अन्त्य गर्न महिला नै सचेत र जागरुक बन्नुपर्नेमा उनको जोड छ । समाजको हरेक तहमा महिलाले नेतृत्व लिन जरुरी रहेको बताउदै उपप्रमुख श्रेष्ठले आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्न आग्रह गरिन ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष हिक्मतबहादुर कुवँर, २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, १ का वडासदस्यहरु कमला भट्ट, तुलबहादुर बाँनिया लगायतले मन्तब्य राखेका थिए ।
गएको तिहारमा देउसी भैलोबाट संकलन भएको रकमबाट कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । समुहले वडामा सरसफाई, सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको जनाएको छ ।




















