गोरखा समाचारदाता
गोरखा – गोरखाका सरकारी कार्यालयले दिने सेवा प्रति सर्व साधारणहरुले असन्तुष्ट देखिएका छन ।
राष्ट्रिय सतर्कता केन्द्रले केही साता अगाडी गोरखाको विभिन्न सरकारी कार्यालयबाट दिने सेवा प्रवाहका विषयमा सेवाग्राही संग लिएको संर्वेक्षणले उनीहरु असन्तुष्ट देखीएको हो ।
सदरमुकाममा राष्ट्रिय सतर्कता केन्द्र सिंह दरबारले आयोजना गरेको ‘भ्रष्ट्राचार नियन्त्रण ः हाम्रो साझा दायित्व’ बिषयक अन्तरक्रिया गोष्ठीमा केन्द्रले उत्त सर्वेक्षण सार्वजनिक गरेको थियो । केन्द्रका उप सचिव श्रद्वा रिजालले गोरखा सदरमुकाममा रहेको १८ सरकारी कार्यालयमा सेवाग्राही संग लिएको सर्वेक्षण सार्वजनिक गर्दै सरकारी कार्यालयले दिने गरेको सेवा प्रति सर्व साधारण अन्तुष्ट भएको जानकारी दिइन ।
उप सचिव रिजालले सरकारी कार्यालयबाट समयमा काम नहुने, दस्तुर बढी भएको, कर्मचारीको रुखो ब्यवहार, अतिरिक्त शुल्क माग्ने, कार्यालयमा कर्मचारी नहुने, समयमा नआउने जस्ता गुनासा सर्वेक्षणमा देखिएको बताईन । केन्द्रले १५० जना सेवाग्राही संग सर्वेक्षण फारम संकलन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाको सह आयोजना भएको उत्त कायक्रममा सह सचिव ज्ञानराज सुवेदी र शाखा अधिकृत भोला खडकाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रका सचिव डा.ऋषीराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख असोककुमार गुरुङ्ग, उप प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विण्णु भट्ट तथा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।



