नरेन्द्र ढकाल
गोरखा – केरौंजाकी मञ्जु बिक बालमन्दिर मावि छहरेको कक्षा ९ मा पढ्छिन् । १० वर्षको कलिलो उमेरमै अभिभावक गुमाउनको पिडा कति हुन्छ उनलाई राम्रेरी थाह छ ।
‘बुबालाई जण्डिसले लग्यो, आमा मामाघर जाँदा बाटैमा बेहोस भएर बित्नुभयो’ गहभरी आशु पार्दै मञ्जुले भनिन ‘तर मनमा जति पिडा भए पनि बाँच्नु पर्दो रहेछ ।’ उनलाई शिक्षिका भन्ने ठूलो धोको छ । तर उच्च शिक्षा कसरी लिने भन्ने चिन्ताले मञ्जुलाई धेरै सताउँछ ।
अहिले पढिरहेको विद्यालयमा १० कक्षा सम्म मात्र पढाई हुन्छ । आगामी वर्ष एसइई दिएपछि पढ्न नपाइने हो की भन्ने उनलाई डर छ । ‘पढ्न पाएँ त भारी बोकेरै भएपनि पढ्छु, शिक्षिका बनेर यो समाजलाई देखाउने ठूलो धोको छ’ मञ्जुले भनिन् ।’ मञ्जुले भाइ सञ्जयलाई पनि आफू सँगै विद्यालयको छात्राबासमा राखेर पढाएकी छिन । सञ्जय भर्खर १० वर्षका भए । उनी ४ कक्षामा पढ्छन् । उनलाई भने डाक्टर बन्ने इच्छा छ ।
धार्चे-५ लब्सिबोटकी पूर्णिमा गुरुङलाई २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पले टुहुरो बनाइ दियो । जंगलमा बाख्रा चराउन गएका बखत बुबालाई भूकम्प लगतै आएको पहिरोले पुरेपछि उनको परिवार अनाथ बन्न पुग्यो । घरमुली नै भूकम्पमा परेपछिआम्दानीका सबै बाटा बन्द भए ।
पूर्णिमाको पढाई पनि रोकियो । ‘बुबा बित्नु भएपछि त स्कूल जान पनि मन लागेन, घरमा खाने कुरा पनि केही थिएन भाई बहिनी पनि साना थिए’ पूर्णिमाले रुँदै भनिन् ‘केही समय यत्तिकै बसेँ पछि यो स्कूलको होस्टेलमा बसेर पढ्न पाइन्छ रे भन्ने सुनेपछि भाइ बहिनीलाई लिएर यहाँ आए ।’ उनी अहिले कक्षा ९, बहिनी ८ र भाई ५ मा पढ्छन् ।
पूर्णिमालाई अहिले आफूसँगै भाई बहिनीको पनिको भविष्यको चिन्ता छ । ‘आफूले मात्रै पढेर भएन सर, भाइ बहिनी पनि म जत्रै भइसकेका छन्, आमाले केही गर्न सक्नु हुन्न’ उनले भनिन् ‘१२ कक्षासम्म कसैले पढाई दिए बोर्डिङ पढाएर भए पनि भाई बहिनी पढाउँथे ।’
बाल मन्दिर माविमा उनीहरु जस्तै २४ जना अनाथ बाल बालिकाहरु आवासिय रुपमा पढ्छन् । उनीहरु अधिकाशंको पढाई राम्रो छ । छात्राबासमा पढ्ने भएकाले अन्य विद्यार्थीको तुलनामा पढ्ने मौका पनि धेरै छ । ‘सबैको पढाई राम्रो छ, अनुसासित छन्’ विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले भने ‘आफ्नो पिडालाई भुलेर लगनशिल भई पढाई लेखाईमा ध्यान दिन्छन् ।’
विभिन्न संघ सस्थाहरुले गरेको सहयोगले विद्यालयको छात्राबास चलेको छ । ‘जसो तसो माग जाम गरेर पढ्ने व्यवस्था मिलाएका छौं’ उनले भने ‘अहिलेसम्म स्थायी स्रोत केही छैन्, स्वदेशी विदेशी दाताहरुको भरमै हामीले होस्टेल चलाएका छौं ।’ अनाथ बाल बालिकाहरुलाई खाने बस्ने अलवा विद्यालय पोशाक र शैक्षिक सामाग्री समेत मागेर नै उपलब्ध गराएको उनले बताए ।
‘कोही सँग डेूस माग्छु, कोहीले झोला जुत्ता दिन्छन्,’ लामिछानेले भने ‘स्टेशनरीहरुले कापी कमल सहयोग गर्नुभएको छ, यदीपुगेन भने विद्यालयको विविद्य स्रोतबाट किनेरै भए पनि उहाँहरुलाई दिने गरिएको छ ।’ छात्राबासका लागि मात्र मासिक ६० हजार खर्च लाग्ने गरेको छ । कतिपय व्यक्तिले आफ्नो जन्मोत्सव, पितृ कार्यमा खाद्यन्न उपलब्ध गराउने गरेका छन् ।




















