गोरखा समाचारदाता
गोरखा – मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि निर्वाचन आयोगमा ठुला साना गरी २१ दलले आवेदन पेश गरेका छन ।
उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको पछी ठुला साना गरी २१ दलले आवेदन दिएका थिए ।
आयोगका प्रवक्ता गिरिजा शर्माले तोकिएो अवधि सम्ममा आयोगमा २१ वटा राजनीतिक दलले उप निर्वाचन प्रयोजनका लागि आवेदन पेश गरेका जानकारी दिए । ०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उप निर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर ०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उप निर्वाचनका लागि दर्ता गर्नु पर्दैन ।
आयोगका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’, मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बी.पी., ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी पनि दल दर्ताको लागि आवेदन दिएका छन् ।
०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए ।



