कैलासबावु श्रेष्ठ
गोरखा – गोरखाको मनास्लु पदमार्गमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा बर्षेनी बद्वि हुदै गएको छ ।
अग्रेंजी बर्ष २०१८ मा मात्रै सो पद मार्गमा ६ हजार ७ सय ४० जना विदेशी पर्यटक मनास्लु पदमार्गमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालय गोरखाका प्रमुख नरेन्द्र लामाले बताए । बर्षभरीको तथ्यांक हेर्दा अक्टोबर र नोबेम्बर महिनामा सबैभन्दा बढी पर्यटक आएको कार्यालयको तथ्यांकमा छ ।
आयोजनाको कार्यालयले यो बर्ष ८ हजार भन्दा बढी विदेशी पर्यटक पदमार्गमा जाने अनुमान गरेको गरेको बताएको छ ।
विश्वमा नै चर्चित मनास्लु हिमाल, श्रृगी हिमाल र बिभिन्न गुम्बाका साथै ऐतिहासिक र पुरातात्वीक हिसाबको चुम र नुब्री उपत्यका घुम्न आउनेहरुको संख्या बढी रहेको छ । सन १९८९ बाट विदेशीहरुको लागि उक्त क्षेत्र खुल्ला गरीएको थियो ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सन २०१५ मा २ हजार ४ सय १९ जना, २०१६ मा ४ हजार ८ सय ७२ जना, २०१७ मा ६ हजार ९ सय २८ जना विदेशीले पदमार्ग प्रयोग गरेका थिए । त्यस्तै गरी सन २०१८ मा यो संख्या बढेर ७ हजार ६४० जना पुगेको बताइएको छ ।
त्यस्तै यस बर्ष २०१९ को ८ महिना अर्थात सेक्टेम्बर महिनासम्ममा मनास्लु पदमार्ग प्रयोग गर्ने मध्ये २ हजार ६ सय ३९ जना विदेशी छन । अप्रिल महिनामा १ हजार १ सय ६४ जना, मार्चमा ९ सय ५९ जना, मेमा २ सय २१ र अगष्टमा १ सय २० जनाले पदमार्ग प्रयोग गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उक्त क्षेत्रको चुम उपत्यका शान्ति र अहिंसा क्षेत्र भनेर विश्वभर चिनिन्छ । चुम उपत्यका अहिंसा क्षेत्र घोषणा भएकै १ सय बर्ष पुगेको बताइएको छ ।
चुमनुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको उक्त क्षेत्रको तालहरु मध्ये काल ताल, बिरेन्द्र ताल र छोङया ताल बढी चर्चित छन् । त्यस्तै गरी गुम्बाहरुमा श्रृगी गुम्बा, मु गुम्बा र राजेन गुम्बा छन भने हिमालहरुमा मनास्लु, श्रृगी र गणेश हिमाल रहेका छन् ।
साथै त्यस क्षेत्रमा हिमालय थार, कालो भालु, हिम चितुवा, नाउर, घोरल, डाँफे र मुनाल पनि सजिलै अवलोकन गर्न पाइन्छ ।



