साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ।
ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ।
यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो।
यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएका छन्।
‘अभूतपूर्व’
इरानमाथि आक्रमणको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ती ड्रोन यमनबाट आएको भन्ने कुराको कुनै प्रमाण नभएको बताएका छन्।
पश्चिमा मुलुकहरूको समर्थन रहेको यमन सरकारलाई सघाउने गठबन्धनको नेतृत्व साउदी अरबले गर्छ भने इरानले हूथी विद्रोहीलाई समर्थन गर्दै आएको छ।

साउदी प्रेस एजेन्सीले छापेको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उनले “ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको” बताएका छन्।
अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट कोही हताहत नभएको बताएका छन्।
एउटा ट्वीटमा अमेरिकी विदेशमन्त्री पोम्पेओले आक्रमणलाई “विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण” को सङ्ज्ञा दिएका छन्।
Skip Twitter post by @SecPompeo
Secretary Pompeo
✔@SecPompeo
Tehran is behind nearly 100 attacks on Saudi Arabia while Rouhani and Zarif pretend to engage in diplomacy. Amid all the calls for de-escalation, Iran has now launched an unprecedented attack on the world’s energy supply. There is no evidence the attacks came from Yemen.
16.7K
12:59 PM – Sep 14, 2019
Twitter Ads info and privacy
13.6K people are talking about this
End of Twitter post by @SecPompeo
उनले थपेका छन्, “इरानी आक्रमणको सार्वजनिक र स्पष्ट रूपमा निन्दा गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौँ।”
ऊर्जा बजारमा आपूर्ति यथास्थितिमा रहेको सुनिश्चित गर्न अमेरिकाले आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने बताउँदै पोम्पेओले “हिंसाका लागि इरानलाई उत्तरदायी बनाइने” बताएका छन्।
इरानका पारमाणविक गतिविधिलाई सीमित तुल्याउने सम्झौताबाट अमेरिकालाई अलग गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष तेहरानमाथिको प्रतिबन्ध ब्युँताएपछि दुई मुलुकबीच तनाव बढ्दो छ।
बेरुतस्थित हुथी स्वामित्वको अल-मसिराह टीभीसँग कुरा गर्दै हुथी विद्रोहीका प्रवक्ता याह्या सरिआले भविष्यमा थप आक्रमण गर्न सकिने बताएका छन्।
शनिवारको आक्रमण आफूहरूले साउदी अरेबियाभित्र गरेका ठूलामध्येको एउटा भएको भन्दै उनले “साउदी अधिराज्यभित्रैका आदरणीय जनताहरूको सहकार्यमा” गरिएको बताए।

साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अराकोको अब्काइकमा ठूलो आगलागी भएको टेलिभिजनमा प्रसारित दृश्यमा देखिएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानलाई साउदी तेल केन्द्रहरूको सुरक्षाका लागि पूरा सहयोग गर्ने प्रस्ताव गरेका छन्। रियादले हमलाको प्रत्युत्तर दिन सक्षम रहेको जनाएको छ।
विश्व बजारमा मूल्य बढ्न सक्छ
विश्लेषण, केटी प्रेसकट
अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो।
खुरैस प्रशोधन केन्द्रले विश्वमा गरिने खपतको झन्डै एक प्रतिशत तेल उत्पादन गर्छ भने अब्काइक अरामकोको सबैभन्दा ठूलो प्रशोधन केन्द्र हो।
विश्व बजारको मागको सात प्रतिशत आपूर्ति गर्ने त्यसको क्षमता छ।
उसको आकारको कारणले गर्दा आंशिक अवरोधले पनि उक्त कम्पनी र आपूर्तिलाई प्रभावित पार्न सक्छ।
शनिवार गरिएका आक्रमणका कारण साउदी अरबको तेल उत्पादनका आधाले कमी आएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्।
साउदी अरेबिया एक्लैले विश्व बजारको १० प्रतिशत कच्चा तेल उत्पादन गर्छ। उत्पादनमा आधाले आएको कमीको अर्थ सोमवार बजार खुल्नासाथ तेलको मूल्यमा उल्लेखनीय असर पर्नेछ।
bbc



