गोरखा समाचारदाता
गोरखा – निजी आवास पुनःर्निर्माणलाई गति दिने उद्वेश्यका साथ जिल्लाको पालिकास्तरमा राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणका इन्जिनियर संग विभिन्न स्थानमा अन्तरक्रिया सम्पन्न भएको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनःर्निर्माण परियोजनाको सहजिकरणमा निजी आवास पुनःनिर्माण एवमं वैकल्पिक प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले जिल्लाको गोरखा र पालुंगटार नगरपालिका, गण्डकी र सिरानचोक गाउँपालिका प्राविधिकहरु संग सम्वन्धीत पालिकामा विभिन्न चरणमा अन्तरक्रिया सम्पन्न भएको परियोजनाको सूचना अधिकारी तारा ढकालले बताईन ।
गोरखा नगरपालिकामा भएको उत्त कार्यक्रममा डीएलपीआईयुका सिनियर डिभिजनल इन्जिनियर सुनिता श्रेष्ठले निर्माण सम्पन्न भएका घरको अन्तिम निरिक्षण गरेर अभिलेखिकरण गर्न प्राविधिकहरुलाई आग्रह गरेकी थिईन । उनले निजी आवास पुनःनिर्माणमा प्रगति भएपनि प्रवलीकरणको काममा खासै प्रगती हुन नसकेको बताईन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तरर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार का प्रमुख रामशरण आचार्यले समयसीमा अनुसार पुनःनिर्माणको कामलाई जोडतोडका साथ अगाडी बढाउन अनुरोध गरेका थिए ।
सुचना अधिकारी ढकालले दिएको जानकारी अनुसार पालुङटार नगरपालिकामा आयोजित अन्तरक्रियामा नगर प्रमुख इन्जिनियर दिपकबावु कँडेलले निजी आवास पुनःनिर्माणले गति लिएकाले प्रवलीकरण गर्ने घरधुरिलाइ प्राथमिकतामा राखेर अघि बढन प्राबिधिकहरुलाइ निर्देशन दिएका थिए ।

सिरानचोक गाँउपालिकामा आयोजित अन्तरक्रियामा गाँउपालिकाका अध्यक्ष राजु गुरुङले सम्पन्न भइसकेका भूकम्प प्रभावित घरधनीलाई सम्पन्ताको प्रमाणपत्र आउदो कात्तिक ३ गते देखि वितरण गर्ने बताए ।
उनले गाँउपालिकाको योजना अभिलेखिकरण गर्ने रहेकाले भूकम्प प्रभावित घरधनीलाई अभिलेखिकरण गर्न आब्हान समेत गरे । अध्यक्ष गुरुङ्गले निजी आवास पुनःनिर्माणलाई सम्पन्न गराउन प्राविधिकहरुले हरेक दिनको कार्य योजना र मासिक समिक्षा गरेर काम गर्दा सफलता हात पर्ने बताए ।

यता गण्डकी गाँउपालिकामा भएको कार्यक्रममा अध्यक्ष होमबहादुर गुरुङले प्राधिकरणका इन्जिनियरलाई निजी आवास पुनःनिर्माणलाई यथाशीघ्र सक्न कार्यक्षेत्रमा खटिएर कामगर्न निर्देशन दिए ।
उनले भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजनाले ३ वटा वडामा मात्र काम गरिरहेकाले अन्य वडामा समेत पुनःनिर्माणको काम विस्तार गर्न आग्रह गरेका थिए । कार्यक्रममा अध्यक्ष गुरुङ्गले प्रवलीकरणका बारेमा समेत भूकम्प प्रभावित घरधनीलाई प्रोत्साहन गर्न प्राविधिकलाई निर्देशन दिएका थिए ।
परियोजनाका जिल्ला संयोजक राम सापकोटाले पुनःनिर्माणमा आएका समस्याहरुलाई सरोकारवाला निकायसंग छलफल गरेर समाधान गनुपर्ने भन्दै उनले प्रवलीकरणको सुचीमा परेका घरधनीले आफ्ना मौलिक घरलाई जोगाउन समेत प्रवलीकरण गर्न आवश्यक रहेको बताए ।
अन्तरक्रियामा डीएलपीआइयूका इन्जिनियर युवक श्रेष्ठ र विकेन्द्र खाइटुले वैकल्पिक प्रविधि र प्रवलीकरण तथा सुधार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा इन्जिनियरहरुलाई प्रवलीकरण तथा वैकल्पिक प्रविधिका घर जस्ता र तारजाली प्रविधि, होलो कंक्रिट बल्क प्रविधिको घर निर्माण सम्बन्धि तालिम समेत दिइएको थियो ।



