- एन्फासंग सहमती, फेन्सी ब्यवसायी आन्दोलित
मोहसिन अलि मिया
गोरखा – चेम्बर अफ कमर्सले दशैका अवसरमा गर्न लागेको सस्तो मेला विवाद सतहमा आएको छ । आगामी असोज ८ गतेदेखि सुरु हुने भनिएको मेला आयोजनामा बिभिन्न विवाद देखिएका छन् । विवाद गर्ने मध्ये एकथरी मेला समयानुकुल नभएको भन्दै स्थगित गर्न आन्दोलनमै उत्रिएका छन् भने एकाथरी आयोजना हुने स्थल वैकल्पिक खोज्नुपर्ने माग गरिरहेका छन् । विविध समस्याका बाबजुद चेम्बर कुनै हालतमा मेला गर्ने योजनामा छ भने अन्य पक्ष बिथोल्ने पक्षमा उभिएका छन् ।
मेला कै बिषयलाई लिएर बिहिबार गोरखा बजार सुनसान बन्न पुग्यो । दशैमा मेला आयोजना गरिदिदा स्थानीय ब्यापारीलाई मार पर्ने भन्दै बजार क्षेत्रका ब्यवसायीको नेतृत्वमा बजार बन्द गरियो । ‘बर्षभरी राज्यलाई हामी कर तिरेर बस्ने अनि ब्यापार हुने सिजनमा बाहिरबाट विदेशी ब्यापारी ल्याउनु कत्तिको उचित हो ?’ फेन्सी ब्यवसायी सरद श्रेष्ठले भने ‘यसले जिल्लाका ब्यवसाय धरापमा पर्ने निश्चित छ ।’
बिहिबार नै उनिहरुले प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाउदै मेला रोकिदिन आग्रह समेत गरेका छन् । पसल बन्द गरेर जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेको ब्यवसायीको टोलीले सस्तो मेलाका नाममा जनतालाई झुक्याउने प्रयत्न हुन लागेको दावी गरेका छन् । ‘सस्तो मेलाका नाममा गैरब्यवसायी र विदेशी विचौलीयाको साँठगाँठ हुन लागेको छ’ प्रजिअ लामिछानेलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘उपभोक्तामा भ्रम सृजना गरेर म्याद गुज्रेका, विल विजक विनाका सामान ल्याएर ठगी गर्ने प्रयास हुदैछ, यसमा ध्यानाकर्षण गर्दछौ ।’
जिल्लाभित्र दर्ता भएर संचालनमा रहेका ब्यवसायीहरुलाई हतोत्साहित गर्ने गरी मेला आयोजना गरिएको समेत उनिहरुले आरोप लगाएका छन् । ‘हामीले मेला नगर्नुस भनेकै छैनौ, समयानुकुल भएन मात्रै भनेका हौ’ अर्का ब्यवसायी जीवनज्योती श्रेष्ठले भने ‘मेलाले न उपभोक्ताको हित गर्छ न ब्यवसायीको, यसले त जिल्लाको अर्थतन्त्र समेत धरासायी बनाउछ ।’ गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका श्रेष्ठ थप्छन् ‘मेलाको बिरोधमा ब्यवसायी स्वस्फुर्त आएका छन्, यसमा उद्योग बाणिज्यको कुनै संलग्नता छैन ।’
यता गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ भने उद्योग बाणिज्य संघले ब्यवसायीमा भ्रम सृजना गर्न खोजेको आरोप लगाएका छन् । ब्यवसायीलाई उचालेर आन्दोलन गर्नुको तुक नरहेको बताउदै उनले मेला कुनै हालतमा ८ गतेबाटै हुने दावी गरेका छन् । ‘यो सबै उद्योग बाणिज्य संघ र कपडा ब्यवसायीको कपोकल्पित भ्रम मात्रै हो’ उनले भने ‘चाडवाडका अवसरमा जनतालाई सस्तोमा सहज रुपमा एकै स्थानबाट सेवा दिन्छौ भन्दा पनि नपाइने उहाँहरुको यो कस्तो दावी हो ।’ मेला स्थलमा स्थानीय ब्यवसायीलाई नै पहिलो प्रथमिकता दिएको चेम्बरको दावी छ ।
त्यस्तै स्थल विवाद निकालेको गोरखा फुटबल संघ र चेम्बरबिच भने सहमती भएको छ । जिल्ला खेलकुद विकास समितिले फुटबल संघलाई आगामी २० बर्षका लागि रंगशालाको रेखदेख गरी खेलकुद गतिविधी संचालन गर्न जिम्मा दिएको थियो । सोही अनुसार संघले यसै बर्ष झण्डै १५ लाखको लागतमा तारजालीले मैदान घेरेको छ । तर मेला संचालन गरी हालकै संरचनालाई पुननिर्माण गरीदिने र स्तरोन्नती समेत गर्ने बताएपछि चेम्बर र संघबिच ४ बुदे सहमती भएको बताइएको छ ।




















