गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखाको मनास्लु पदमार्गमा जाने पर्यटकलाई सदरमुकाम भएर लैजानु पर्ने बहस सुरु भएको छ ।
उद्योग बाणिज्य संघ गोरखाको सरोकारवालाहरु विच छलफल सुरु गरेको हो । ‘केही वर्ष पहिले गोरखा सदरमुकाम हुँदै मनास्लु जाने पर्यटक जाने गर्थे, बजारको ब्यापार हुन्थ्यो, रोजगारी पाउँथे, अहिले पर्यटक सिधै धादिङ भएर बसमा जान्छन्’ उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योती श्रेष्ठले भने ।
विदेशी पर्यटकसँगै जाने भरिया र अन्य आन्तरिक पर्यटक पनि सोही रुट प्रयोग गर्ने हुँदा पहिले जस्तो गोरखा सदरमुकाममा मनास्लु जाने पर्यटकको चहलपहल देखिँदैन । नेपाल एकिकरणको उद्गम थलो गोरखा दरवार, संग्राहालय, मनकामना, कोटकाली, पश्चिमकाली लगायत सदरमुकाम आसपासको ठाउँमा पर्यटक भुलाउन सकिने उनी बताउँछन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले गोरखा सदरमुकामलाई ‘गेट वे’ बनाएर मनास्लुमा पर्यटक पठाउन सकिने बताउँदै भने ‘इतिहासको अध्ययन गर्न पर्यटक आउँछन्, हामीले गोरखाको बारेमा पर्यटकलाई जानकारी दिन सक्नुपर्छ ।’
गोरखाबाट काठमाण्डौँ, पोखरा, बन्दिपुर, चितवन जस्ता पर्यटकीय गन्तब्यहरु नजिक भएकाले ट्रेल मार्फत जोड्न सकेको खण्डमा अझै धेरै पर्यटक आउने उनले बताए । धार्मिक, सांस्कृतिक, पर्या पर्यटनमालाई समेटेर गोरखा हुँदै मनास्लु जाने पर्यटक आउन योजना बनाएर लाग्नुपर्ने अधिकासंको सुझाब छ ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले ठुला लगानीले पनि पर्यटक भित्र्याउन सकिने बताउँदै भने ‘एकिकृत टूेकिङ ट्रेल निर्माण गर्ने गरी उद्योग बाणिज्य संघले तत्काल काम थाल्नु बोर्डले पनि सहयोग गर्छ ।’
गोरखा घर भई राजधानी बसेर पर्यटन ब्यवशाय गर्दै आएकाहरुले भने टूेकिङ जाने पर्यटकका लागि उचित वतावरण बनाउन नसक्दा सदरमुकाम हुँदै जाने क्रम घटेको बताएका छन् । ‘जहाँ पनि सडक पुगेको छ, हिँड्ने बाटो छैन’ पर्यटन ब्यवशायी ईमानसिंह गुरुङले भने ‘धुलो बाटोमा हिँड्न हामीले जवरजस्ती गर्दैमा पर्यटक आउँदैन ।’
हिडाएर लैजाने टूेल निर्माण गर्ने, के देखाउने, कहाँ घुमाउने, बास बस्ने ठाउँ यकिन गरेर राम्रो गाईड सहित सुरक्षा दिन सकियो भने अझै पनि सदरमुकाम भएर मनास्लु जाने पर्यटक पठाउन सकिने उनले बताए ।
२८ वर्षदेखि ब्यवशाय गर्दै आएका धनबहादुर गुरुङले गोरखा सदरमुकाम भएर पर्यटक आउने बनाउन यहाँ ‘भिलेज टुर’ हेरिटेज टुरको योजना बनाउन सुझाब दिए । संस्कृती र पुराना भेषभुषाले पनि पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए ।
ब्यवशायीले पठाउँदैमा एक दुई पटक पर्यटक आउन सक्ने तर निरन्तर आउनका लागि आकर्षित गर्ने क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाब ब्यवशायीको छ । ‘बस्ने राम्रो होटल छैन, अर्गानिक खान पाउने रेष्टुराँ छैन’ अर्का ब्यवशायी धनप्रसाद गुरुङले भने ।
गोरखाले आन्तरिक र धार्मिक पर्यटनलाई ध्यान दिएर सदरमुकाम आसपासमा पर्यटक अडिने गरी ठाउँहरु बनाउनुपर्नेमा उनले जोड दिए । लामो समयदेखि गाईडको काम गर्दै आएका साने गुरुङ भन्छन् ‘मनास्लु पदमार्गमा पनि अव पर्यटक घट्दैछ, कारण यहाँ सुरक्षा छैन, पदमार्गको ठाउँमा सडक खनिएको छ भन्ने सन्देश बाहिर गएको छ ।’ उनले नयाँ पदमार्गको बिकल्प खोज्नुपर्ने बताए ।
गोरखा सदरमुकाममा रहेको गोरखा संग्राहालयमा वार्षिक एक लाख पर्यटकले भ्रमण गरेको संग्राहालय सँग तथ्याङ्क छ । तर यहाँ आएका अधिकासं पर्यटक रात बिताउँदैनन । आएका केही घण्टामै सदरमुकामबाट बाहिरिने गर्दा यहाँको ब्यापार ब्यवशायमा कुनै फाईदा पुगेको छैन । आएका पर्यटकलाई टिक्ने गरी र मनास्लु जाने पर्यटकलाई गोरखा भित्र्याएर लैजाने गरी योजना बनाउने जनप्रतिनीधीहरुले योजना बनाएका छन् ।
‘पर्यटक आएन भन्ने मात्र होईन, हामीले आउन मन लाग्ने गरी योजना पनि बनाउनुपर्छ’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने । पर्यटकलाई गोरखामा रहेका धर्मिक ऐतिहासिक बस्तुको बारेमा बुझाउन नसक्नु, सक्षम गाईड तयार नहुनु, प्रचार प्रसारको कमि हुनु लगायत कारणले पर्यटक कमि भएको उनले बताए ।
सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले यहाँका स्थानीय ब्यापारी ब्यवशायीले पर्यटन क्षेत्रमा जिल्लाभित्रै लगानी बढाउन आवस्यक रहेको बताए । ‘गाउँगाउँमा सडक लैजानु, बिकास गर्नु पनि आवस्यक्ता छ, तर सडक खनेर टूेकिङ भएन, पर्यटक आएन भन्ने होईन सँगसँगै नयाँ पदमार्गका पनि खोजौँ र निर्माण गरौँ ।’
पदमार्ग क्षेत्रमा अर्गानिक खानेकुरा, धर्म संस्कृती, भेषभुषालाई आकर्षणको माध्याम बनाएर पर्यटक ल्याउन सकिने योजना बनाउन उनले ब्यशायीलाई अनुरोध गरे । अहिले गण्डकी प्रदेश सरकारले गोरखाभरी २२ वटा होमस्टेलाई अनुदान बितरण गरेपनि दुई÷तीनवटा बाहेक अन्यमा पर्यटक बस्ने अवस्था नरहेकाले स्तरिय होमस्टे तयार गर्नुपर्ने उनले बताए ।
स्थानीय तहले आफ्नो क्षेत्रमा पर्यटन लक्षित कार्यक्रम संञ्चालन गरेको बताउँदै आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘जनप्रतिनीधी आएपछि पर्यटनको क्षेत्रमा के काम भए, अब के गर्नुपर्छ भन्ने पनि ब्यवशायीले खोजी गर्नुपर्छ ।’
राम्रा कामलाई सहयोग गर्न र गर्नुपर्ने काममा पर्यटन ब्यवशायी पनि सँगसँगै हुनुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेश सांसद हरिशरण आचार्यले गोरखाको बिकासका लागि पर्यटन ठुलो संभावना भएको बताउँदै प्रदेश सरकारले मनास्लु जाने पर्यटकलाई सदरमुकाम हुँदै ल्याउन पहल गर्ने बताए ।




















