नरेन्द्र ढकाल\
गोरखा – उत्तरी गोरखाको खोर्लाबेसीमा सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । छायाँ नेपालनामक एक सामाजिक संस्था र धार्चे गाउँपालिकाको सयुक्त लगानीमा अस्पताल निर्माण गर्न लागिएको हो ।
‘उत्तरी गोरखाको धार्चे र चुमनुब्रीमा अहिलेसम्म एउटा पनि अस्पताल छैन्’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘अत्यावश्यक स्वास्थ्य सेवा नपाएका कारण धेरैले अकालमा ज्यान गुमाइ रहेका छन् ।’ उत्तरी गोरखाका नागरिकलाई उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अबस्था छ ।
सक्नेले हेलिकप्टर चार्टर गरेर काठमाण्डौमा लगि उपचार गराउँछन भने गरिब तथा असहायहरुले अकालमै ज्यान गुमाउनु पर्ने अबस्था छ ।
वर्षेनी सुरक्षित सुत्केरी सेवा नपाएका कारण सो क्षेत्रका धेरै नवजात शिशु तथा आमाहरुको ज्यानजाने गरेको छ । ‘दुबै गाउँपालिकालाई पायक पर्ने गरी खोर्लाबेसीमा जग्गा खोजिसकेका छौं’ उनले भने ‘दशै लगतै काम सुरु गर्ने हाम्रो योजना छ ।’
एक वर्ष भित्र भौतिक पूर्वाधार बिकासको काम सक्ने लक्ष्य राखिएको छ । सोही अनुरुप छायाँ नेपाल सँग सम्झौता समेत भइसकेको धार्चे गाउँपालिकाले जानकारी दिएको छ । ‘करिब डेढ करोड रुपैयाँमा पूर्वाधार बिकासमै खर्च लाग्ने देखिन्छ’ उनले भने ‘त्यसको ८० प्रतिशत छायाँ नेपाल र २० प्रतिशत गाउँपालिकाले लगानी गर्ने सहमती भएको छ ।’
अस्पताल सञ्चालनमा आएको केही वर्षसम्म छायाँ नेपालले एक जना एबिबिएस डाक्टर र अन्य नर्स समेत उपलब्ध गराउने छ ।
अस्पतालका लागि आवश्यक यन्त्रउप करण पनि गाउँपालिकाले खरिद गर्ने बताएको छ । ‘मितव्ययी हिसाब कसरी अस्पताल सञ्चालनगर्न सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुसँग छलफल भइरहेको छ’ उनले भने ‘सोही अनुसारको म्यानपावर र प्रविधिभित्राउने हाम्रो सोच छ ।’
गाउँपालिकाले हरेक स्वास्थ्य चौकीमा टेलि मेडिसियन सेवा सञ्चालन गर्ने समेत तयारी गरेको छ ।
अस्पतालमा रहेका चिकित्सिकले इन्टरनेट मार्फत स्वास्थ्यचौकीमा सम्र्पक गरी बिरामीको उपचार गर्न सक्ने बताइएको छ । उक्त अस्पताल बनेपछि सो क्षेत्रका सर्वसाधरणलाई धेरै सहजहुने अपेक्षालिइएको छ ।




















