गाेरखा समाचारदाता
गाेरखा – हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ। गणेशको चर्चा वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र भेटिन्छ।
भगवान् गणपति मङ्गलकारी शुभफलप्रदाता र अमोघ लाभदाता हुन्। यिनको पूजाबाट भक्तका समस्त सङ्कट र कष्ट समाप्त हुन पुग्छन्।
गवान गणेश चतुर्थी तिथिका दिन प्रकट भएका थिए। गणेशजी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको संयोग थियो।
त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजा आराधना र प्रसन्नताका निम्ति अती महत्त्वपूर्ण तिथिका रूपमा लिइएको हो। मङ्गल चौथीलाई ‘मङ्गलचतुर्थी’ र ‘अङ्गारकी चतुर्थी’ पनि भन्ने गरिन्छ।
ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको मान्यता छ। त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिवस मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गर्ने परम्परा पनि विद्यमान छ।
मङ्गल ग्रहको उत्पत्ति पृथ्वीबाट भएको हो। पृथ्वीको सन्तान भएकाले मङ्गल ग्रहलाई भौम पनि भनिन्छ। मङ्गलबार र मङ्गलग्रहका अधिदेवता भगवान् गणेश नै हुन्।
त्यसैले भगवान् गणेशको जन्मतिथि चतुर्थी मङ्गलबार पर्दा यो दिन अझ महत्त्वको हुन गएको हो। भगवान् गणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसैत जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन्।
कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पाइन्छ। कथाका अन्तरविषयमा भिन्नता देखिएपनि तिनले यस दिनको महत्वलाई नै उपस्थापन गरिएको प्रसङ्गमा भने समानता पाइन्छ।
भगवान् गणेशको जन्मप्रसङ्ग
गणेश पुराणको उपासना खण्डमा भगवान् गणेशको जन्म वृत्तान्त छ। यस वृत्तान्तमा बताइए बमोजिम गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो।
प्रत्येक वर्ष यस दिनलाई ‘गणेश चौथी’ भनेर मान्ने गरेको पाइन्छ। सामन्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ।
भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले चतुर्थी र मङ्गलबारको संयोग भएको दिनको महत्व बढेको हो भन्ने विश्वास छ।



