मोहसिनअलिमिया
साउन ७ गते । यस बर्ष जिल्लामा ६ सय ८८ वटा नयाँ उद्योग दर्ता भएका छन् । जिल्लाका बिभिन्न स्थानीय तहमा सञ्चालन हुने गरी आर्थिक बर्ष २०७५/०७६ मा ६ सय ८८ वटा उद्योग घरेलु तथा साना उद्योग विकास समिति गोरखामा दर्ता भएका हुन् । जस अनुसार उत्पादन मुलकमा ५० वटा उद्योग छन् । यसमा पाउरोटी, ग्रिल, ब्लक, कपास, हस्तकला, लगायतका उद्योग पर्छन् । त्यस्तै पर्यटन मुलकमा १ सय ३३ छन् । जसमा होटल लगायतका ब्यवसाय पर्र्ने तत्कालिन कार्यालय प्रमुख नवराज राउतले बताए । यसैगरी सेवा मुलक उद्योगमा १ सय वटा दर्ता भएका छन् । यसमा यातायात, कन्ट्रक्सन, राइसमिल, साइवर, वर्कसप लगायत पर्ने उनको भनाई छ ।
यस बर्ष जिल्लामा सबैभन्दा बढि कृषि तथा वन्यजन्तु मुलक उद्योग दर्ता भएका छन् । जसमा बाख्रा फार्म, कुखुरा फार्म, मौरी पालन लगायत पर्छन् । यस बर्ष जिल्लामा उर्जा मुलक उद्योग भने दर्ता नभएको प्रमुख राउतले बताए । त्यस्तै यस बर्ष यि उद्योगहरुमा ५८ करोड ५७ लाख ४८ हजार ४ सय ४४ रुपैया लगानी भएको कार्यालयले जनाएको छ । यस बर्ष खुलेका उद्योग मध्ये पुरुषका दाजोमा महिलाका नाममा धेरै उद्योग दर्ता भएका छन् । ३ सय ५० महिलाका नाममा उद्योग दर्ता हुदा ३ सय ३८ जना पुरुष यस बर्ष उद्यमी बनेका छन् । यस संगै जिल्लामा साना उद्योगको संख्या ४ हजार २ सय ३२ पुगेको छ । गतबर्ष ६ सय ८६ उद्योग खुलेका थिए । त्यस्तै यस बर्ष बाणिज्य तर्फ ४ सय ९९ ब्यवसाय दर्ता भएका छन् ।
कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा १ करोड ४ लाख १६ हजार ८ सय ५० रुपैया आम्दानी गरेको छ । उद्योग, ब्यवसाय, दर्ता, नविकरण, पुजीबृद्धि, ठाँउसारी, नामसारी लगायतका शिर्षकमा गरी यस बर्ष सो रकम बराबरको राजश्व संकलन भएको कार्यालयले जनाएको छ । उक्त रकम अघिल्लो सालको भन्दा ४० लाख बढि हुन आउछ । यस बर्ष दर्ता, नविकरण, ठाउँसारी, पुजी बृद्धि लगायतका कार्य बढेकाले राजश्व समेत बढेको प्रमुख राउतले बताए । अघिल्लो साल ६४ लाख मात्रै राजश्व संकलन भएको थियो ।



