दीपक श्रेष्ठ
साउन ४ गते । गोरखाको सहिद लखन गाउँपालिकाले घर–घरमा पुगेर अपांगता परिचय पत्र बितरण गर्न शुरु गरेको छ । गाउँपालिकाले वडा भित्र रहेका सवै अपांगता भएका व्यक्तिहरुको घरमै पुगेर परिचय पत्र बितरण गर्न शुरु गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।
गाउँपालिकाको कार्यालयसम्म आएर परिचयपत्र बनाउन नसक्दा राज्यले प्रदान गर्ने सेवा सुबिधाबाट अपांगता भएका कोही पनि व्यक्तिहरु बन्चित हुन नपरोस् भन्ने उद्देस्यले गाउँपालिकाले घरघरमै पुगेर परिचय पत्र बितरण गर्न शुरु गरको उहाँको भनाई छ ।
‘अति असक्त अपांगता भएका व्यक्तिहरु जो गाउँपालिका कार्यालय, वडा कार्यालयसम्म पनि आउन सक्नु हुन्न उहाँहरुलाई पालिकाले नै सवै बन्दोबस्त मिलाएर घरमै पुगेर परिचय बितरण गर्न थालेको हो, उहाँले भन्नुभयो, ‘अब निरन्तर रुपमा सवै वडामा पुग्ने गाउँपालिकाको कार्यक्रम रहेको छ । ’
उपाध्यक्ष तिवारीले पहिलो चरणमा गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ मा अपांगता परिचय पत्र बितरण गरेको जानकारी दिनुभयो । ‘ ति वडाहरुमा ९ जना अतिअसक्त अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र बितरण गरिएको हो, उहाँले भन्नुभयो, परिचय पत्र बितरण गरिएका मध्ये ६ जना बालबालिका र ३ जना अन्य रहेका छन् ।’
अपांगता परिचय पत्र बितरणका लागि मेडिकल रिर्पोट पनि आबश्यक पर्ने भएकाले जिल्ला अस्पताल गोरखा संग समन्वय गरेर काम शुरु गरेको उहाँको भनाई छ । ‘मेडिकल रिर्पोट बिना परिचय पत्र बितरण गर्नै मिल्दैन, उहाँले भन्नुभयो, त्यसका लागि चिकित्सकको टोली पनि संगसंगै लिएर जानुपर्ने हुन्छ, हामीले जिल्ला अस्पतालसंग समन्यव गरेका काम शुरु गरेका छौ ।’
गाउँपालिकाले पालिका भित्रका सवै वडाहरुलाई अपांगता भएका व्यक्तिहरुको पहिचान गरी तथ्याङक संकलन गर्न समेत आग्रह गरेको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । ‘९ वटै वडाहरुमा तथ्याङक संलकन गर्न भनि सकिएको छ, उहाँले भन्नुभयो, वडा कार्यालयले संकलन गरेको तथ्याङक र सिफारिसका आधारमा आबश्यकता हेरी व्यवस्था मिलाएर घर–घरमा परिचय बितरण गर्दै आएका छौ ।’
उहाँले अधिकासं अपांगता भएका व्यक्तिहरु कार्यालयमा आउन नसक्दा परिचय बनाउन नपाएको र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको जानकारी आएपछि पालिकाले घरमै गएर परिचय पत्र बितरणको अभियान शुरु गरेको बताउनुभयो । घरमै गाउँपालिका कर्मचारी, चिकित्सक सहितको टोली आएर स्वास्थ्य परिक्षण गरि परिचय पत्र पाउन थालेपछि अपांगता भएका व्यक्तिहरु पनि खुशी भएका छन् ।



