गोरखा समाचारदाता
साउन ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवेन्द्र पौडेलले सरकारको नेतृत्व परिवर्तन हुनपर्ने बताएका छन । स्थायी समिति सदस्य पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका हुन ।
सनिवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्रीहरु पनि परिवर्तन गर्न माग गरे । सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएको कुरा सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण नभएको भन्दै विगतको सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्ने बताए ।
प्रचण्ड निकट मानिने नेता पौडेलले सरकारमा ओलीको नेतृत्व परिवर्तन हुने र त्यो भूमिका पार्टीका अर्का अध्यक्ष प्रचण्डले गर्ने समेत साक्षकार कार्यक्रममा दाबी गरे । नेता पौडेलले सरकार सुशासनको दिशामा कमजोर देखिएको भन्दै निर्मला काण्ड, संसद्मा दर्ता भएका विभिन्न विधेयक, विषादी परीक्षण लगायत विषयमा सरकारले बुद्धिमत्ता पूर्ण ढंगले अघि नबढेको पौडेलको आरोप थियो । कार्यक्रममा नेता पौडेलले उनले गुठी बिधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे ।




















