कैलासबावु श्रेष्ठ
साउन ४ गते । गोरखा जिल्लामा जडिबुटी बाट आउने राजश्वमा यो बर्ष कमी आएको छ ।
डिभिजन बन कार्यालय गोरखाले उपलब्ध गराएको विवरण अनुसार गत बर्षको तुलनामा यो आर्थिक बर्ष ०७५/०७६ मा १७ लाख रुपैयाँ बरावरको राजश्वमा कमी आएको देखिन्छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार यो आर्थिक बर्षमा ३ लाख ४ हजार २ सय १० रुपैयाँ राजश्व संकलन भएको छ ।
आर्थिक बर्ष ०७४÷०७५ मा सोही साविक जिल्ला बन कार्यालयले जिल्ला भित्रको जडिबुटीबाट १९ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । नेपालमा उत्पादित जडिबुटीहरुलाई छिमेकी राष्ट्र भारतले प्रतिबन्ध लगाएको कारण पनि निर्यात हुन नपाउदा राजश्वमा कमी आएको हुन सक्ने कार्यालयको अनुमान रहेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पाईने यार्सागुम्बा, सतुवा, बन लसुन, गुच्छे च्याउ, नाकवेली, जटामसी, पाँचऔले तथा तल्लो क्षेत्रमा पाईने कुरीलो, सतुवा, तेजपात, तुलसी जस्ता जडिबुटी पाईने गर्दछ ।
कार्यालयले दिएको जानकारी अनुसार संकलनका लागि अनुमती लिएकाहरुले पनि छुटपुर्जी लिन नआएका कारण राजश्वमा कमी आएको हो । कार्यालयले आर्थिक बर्ष ०७५/०७६ मा काठ बिक्रीबाट १२ लाख ८९ हजार ६१ रुपैयाँ समेत राजश्व संकलन गर्न सफल भएको छ ।



