गोरखा समाचारदाता
साउन ३ गते । सिद्वार्थ राजमार्गमा राखीएको बुद्व मुर्ति तोडफोड भएकोमा राप्रपा नेपालले आपत्ती जनाउदै घटनाको भत्सना गरेको छ ।
राप्रपाले शुक्रबार एक विज्ञप्ती निकाल्दै ‘रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ राजमार्ग छेउमा अज्ञात समुहबाट बिहीबार भगवान बुद्धको मुर्ति माथि तोडफोड गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ’ भन्दै ‘शान्ति, अहिंसा र ज्ञानका प्रतीक भगवान बुद्धको मुर्ति माथि भएको आक्रमणबाट राप्रपा स्तब्ध भएको’ विज्ञप्तीमा भनिएको छ।
‘आधुनिक समाजमा निर्जीव मुर्ति माथिको प्रहार लज्जास्पद मात्रै छैन निन्दनीय र घृणित कार्य पनि हो, राप्रपा घटनाको घोर निन्दा र भत्सर्ना गर्दछ’ प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।
राप्रपाले ‘विद्यमान सामाजिक, सांस्कृतिक सदभाव भड्काउने यस्ता कार्यमा संलग्न अपराधीलाई यथाशिघ्र पत्ता लगाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल सरकारसंग राप्रपा जोडदार माग गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।



