नरेन्द्र ढकाल
जिल्लाका २२ मासु पसल र २१ कृषिफार्मले अनुदान पाएका छन् । प्रदेश सरकार मातहतको भेटेनरी अस्पताल तथापशु सेवा विज्ञ कार्यालयको वार्षिक कार्यक्रम अनुसार मासु पसल र कृषिफार्म गरी ४३ जनालाई अनुदान रकम उपलब्ध गराइएको हो । ‘हामीकहाँ परेका प्रस्तावको आधारमा उहाँहरुलाई छनोट गरिएको हो’ कार्यालय प्रमुख ब्रजकिशोर शाहले भने ‘कामका आधारमा हामीले भुक्तानी दिएका छौं ।’
कार्यालायका अनुसार २२ वटा मासु पसलले कुल २१ लाख ८५ हजार ६ सय ८५ र १३ वटा मोडल फार्मले कुल ३३ लाख ८० हजार ८ सय २८ रुपैयाँ पाएका छन् ।
मन्त्रालय बाट फिर्ता आएका ८ वटा फार्मलाई पनि यहीबाट अनुदान दिइएको छ । जसका लागि कुल ५२ लाख २७हजार ५ सय ८२ रुपैयाँ प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ । ‘मैले ९ वर्ष देखि मासु पसलगर्दै आइरहेको छु’ देबकोटा मासु पसल छेवेटारका सञ्चालक पशुराम देवकोटाले भने ‘अहिले पशु कार्यालयबाट प्रविधि खरिदका लागि एक लाख पाएँ, कुखुरा भुत्ल्याउने मेसिन खरिद गरेको छु । यसले काम गर्न निकै सजिलो भएको छ ।’ बैदेशिक रोजगारीबाट फर्केका रेबन रानाले व्यवसायी बाख्रा पाल्न थालेको २ वर्ष भयो । गोरखा नगरपालिका ९ सिर्दीका रानाले आर्थिक अभावका कारण आधुनिक खोर भने निर्माण गर्न सकेका थिएनन् । गतवर्ष भेटेनरी अस्पताल तथापशु सेवा विज्ञ कार्यालयबाट ३ लाख २० हजार अनुदान लिएर उनले खोर बनाएका छन् । ‘सरकारले दिने थोरै अनुदानले पनि हामी जस्ता कृषकलाई कामगर्न हौसल मिल्छ’ गोरखाका व्यवसायी कुखुरा पालक कृषक पशुराम बस्नेतले भने ‘मैले पनि यस वर्ष ९ लाख ३० हजार पाएको थिएँ । कुखुरा पालन व्यवसाय अघि बढाउन नै उक्त रकम खर्च गरेको छु ।’ बस्नेतले गोरखा नगरपालिका ८ को खल्लुबोट, लुदीखोला र छेवेटारमा गरी करिब ५ करोडको लगानीमा व्यवसायीक कुखुरा पालन गर्दै आइएका छन् । लुदीखोलामा ४ वटा डिप लिटर हाउस निमार्ण गरेका उनले १७ हजार कुखुरा थप गर्न लागेको बताए ।
कार्यालयले पूर्वाधार निर्माण, पशु आहार सेवा कार्यक्रम, उत्पादनमा आधारित अनुदान र प्याकेट क्षेत्रका विभिन्न शीर्षकमा पनि अनुदान प्रदान गरिएको छ । ‘१२ किलोमा खसि बोका संकलन केन्द्र स्थापना गरिदिएका छौं’ कार्यालय प्रमुख शाहले भने ‘यस वरपरको किसानलाई खसीबोका संकलन गरी बजारसम्म लैजान यसले ठूलो सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ ।’ गोरखा नगरपालिका ११ बाह्रकिलो बजार नजिक ४ लाख २४ हजार ७६७ रुपैयाँ संकलन केन्द्र निर्माण गरिएको हो ।
बुधबार उक्त जिल्लाका सरोकारवालाहरु अनुदानको उपयोग भएन भएको बारे स्थलगत अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, जिल्ला न्यायधिस रमेशकान्त अधिकारी, जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, विषय गत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पतालका कर्मचारी लगायतले सञ्चारकर्मी एवं पत्रकारको टोलीले अनुमन गरेको हो । उक्त टोलीले छेवेटारको उभोक्ता सहकारीमा मल खरिद बिक्रिको अबस्था, त्यहाँ किराना पसल, मेडिकल, भेटेनरी लगायतको पनि अनुगमन गरेको थियो । ‘हाम्रो उदेश्य व्यापारीलाई त्रसित बनाउने होइन ’प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ‘यसले आम उपभोक्तामा जागरण ल्याउँछ भन्ने विश्वास छ ।’ अनुगमनको क्रममा स्वर्गद्धारी एग्राभेट र मिलनइजी सपबाट दैनिक उपभोग्य सामाग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।



