मोहसिन अलि मियाँ
असार ३१ गते । केहि दिनदेखि परिरहेको अबिरल बर्षातका कारण गोरखाका ग्रामिण भेगको जनजिवन प्रभावित बनेको छ । जिल्लाका बिभिन्न स्थानमा पहिरोका कारण कैयौं बस्ती जोखिममा परेका छन् भने अधिकांश ग्रामिण सडकको यात्रा सकसपूर्ण बनेको छ । यसैगरी पहिरोकै कारण कतिपय स्थानमा विद्युत तथा खानेपानी समेत अवरुद्ध बनेका छन् । आइतबार राती भएको बर्षातका कारण सिरानचोकका केहि घरहरुमा पहिरोले पूर्ण रुपमा क्षती पुरयाएको छ भने कैयौं घर जोखिममा छन् । साविकको श्रीनाथकोटको उपल्लो गोहोरे, तल्लो गोहोरे, डाँडाँगाउँमा गरी ६ घर पहिरोले पूर्णरुपमा क्षती पुरयाएको स्थानीय विनोद पाण्डेले जानकारी दिए । त्यस्तै सोही गाउँमा करिब ३५ घर उच्च जोखिममा रहेकाले स्थानीयलाई अन्यत्र सारिएको पाण्डेको भनाई छ । यसैगरी हर्मीका ३ घरमा पनि पहिरोले क्षति पुरयाएको स्थानीयहरुले बताएका छन् ।
त्यस्तै पालुङ्टार नगरपालिका १० बागडाँडाँमा ६ घर विस्थापित भएका छन् । पहिरोका कारण घरमा क्षती पुगेपछि उनिहरु विस्थापित हुनुपरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले बताए । यसैगरी वडा नम्बर ३ मा रहेको ५० वर्ष पुरानो आँपपिपल अस्पताल जाने प्राय सबै बाटोहरु पहिरोका कारण अबरुद्ध अस्पतालका प्रमुख प्रशासकिय अधिकृत बाबुराम गिरीले जानकारी दिए । बर्खा लागेसंगै भए गरेका निर्माण कार्यले गर्दा संचालनमै रहेका सडक पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
साथै हर्मी हुदै आंपपिपल भज्याङबाट अस्पताल आउने बाटोमा पनि समस्या भएपछि अस्पतालले सञ्चालन गरेको बस सेवा समेत रोक्नुपर्ने बाध्यता आएको बताइएको छ । लगातारको वर्षाले भूकम्पको केन्द्रबिन्दु बारपाक सुलिकोट, धार्चे र चुमनुब्री लगायतका विभिन्न ठाउँमा पहिरो जानुका साथै जोखिमयुक्त वस्तीमा थप जोखिम बढाएको छ । चेपे मस्याङ्गी, दरौदी, बुढीगण्डकी लगायतका ठुला नदी तटिय क्षेत्रमा बाढीले कटान गर्नुका साथै खेति योग्य जमिनमा प्रवेश गरेको स्थानीयले बताएका छन् । बाढी पहिरोले देशभर ठूलो धनजनको क्षति गरिरहेका बेला गोरखामा भने अहिलेसम्म ठूलो अप्रिय घटना भने सुन्नु परेको छैन् ।
तस्बिर सौजन्य आशिष देवकोटा पालुङटार




















