नरेन्द्र ढकाल/गोरखा
चैत्र १२ गते । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को विद्युत सेवालाई प्रभावकारी बनाउन पालुङ्टारमा सव–स्टेशन निर्माण भएको छ । सो क्षेत्रमा बढ्दो विद्युतको मागलाई लक्षित गरी करिब १६ करोड लागतमा पालुङ्टार नगरपालिका–५ ढिकीडाँडामा सव–स्टेशन निर्माण गरिएको हो । ‘पालुङ्टार क्षेत्रमा एउटा सव–स्टेशनको आवश्यकता थियो, हामीले बारम्बार केन्द्रमा माग पनि गरिएका थियौं’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेले भने ‘अब सव–स्टेशन बनेको छ । यो गोरखा जिल्लाकै लागि नै महत्वपूर्ण कुरा हो ।’
एसियाली बिकास बैंक (एडिवी) को आर्थिक सहयोगमा विद्युत प्राधिकरण अन्र्तगतको आयोजना व्यवस्थापन निर्देशनालयले उक्त सव–स्टेशन निर्माण गरेको हो । करिव १६ करोड लागतमा ३३/११ केभि ६/८ एमभिए क्षमताको उक्त सव–स्टेशन सञ्चालनमा आएपछि तनहुँको डुम्रे र दमौलीसँगको विद्युतिय परनिर्भता पनि हट्ने भएको छ । ‘अब हिजोका दिनमा जस्तै घरी घरी वत्ति गइराक्ने, डुम्रेबाट गयो, दमौलीबाट गयो भन्ने हाम्रो कर्मचारीको भन्ने अवस्था रहेन’ उनले भने ‘अब धेरै समस्याहरु पालुङ्टारबाटै समाधान हुने भएकाले हामीलाई काम गर्न पनि सहज हुन्छ ।’

क्षेत्र नम्बर १ को साबिकको देउराली सहित क्षेत्र नम्बर २ सम्र्पूण भागमा तनहुँको डुम्रे रहेको सव–स्टेशनबाट विद्युत सेवा सञ्चालन हुने गरेको छ । ‘पालुङ्टारमा ३३ केभि सव–स्टेशन निर्माण भए पछाडी ३३ केभि लाइन नै हामी इन्ट्रि गर्छौं’ उनले भने ‘त्यहीँबाट फिडरहरु अन अफ गर्ने सकिने भएकाले तनहुँमा विद्युत समस्या हुँदा हाम्रो पनि बन्द गर्नुपर्ने अवस्था अब रहदैन ।’ उक्त सव–स्टेशन अन्र्तगत तिन वटा फिडर निर्माण गरिने भएकाले एक क्षेत्रमा विद्युत समस्या हुँदा वा बन्द गर्र्नुपर्दा अर्को तर्फ भने लाइन सञ्चालन गर्न मिल्ने कार्यालयले दाबी गरेको छ । डुम्रे देखि पालुङ्टार, सिरानचोक हुँदै अजिकोट र बारपाक सुलिकोटका केही वडासम्म रहेको लामो प्रशारण लाइन पनि कटौती हुने भएको छ । जसले गर्दा विद्युतिय अवरोध कम भई प्रशारण प्रभावकारी हुने कार्यालयले बताएको छ ।
उक्त सव स्टेशन बनेपछि सो क्षेत्रमा प्रयाप्त विद्युत उपलब्ध हुने भएकाले उद्योग धन्दा अन्य व्यवसाय गर्न समेत सहज हुने विश्वास प्राधिकरणको छ । ‘पालुङ्टारबाट चालु हुन गइरहेको यो सव–स्टेशनले गोरखा जिल्लाको औद्योगिक विकासको निम्ति, व्यवसायिक क्षेत्रमा ठूलो योगदान दिन्छ भन्ने हामीले विश्वास लिएका छौं’ कार्यालय प्रमुख न्यौपानले भने ‘किनभने यसमा भोल्टेजको क्वालिटी, रिल्यावेटी असाध्यै हाइ हुन्छ ।’

उक्त सव–स्टेशन हाइडूोपावरको नजिक रहेको र ठूलो क्षमताको टूान्सफर्मर समेत जडान गरिने भएकाले उच्च गुणस्तरको विद्युत सेवा उपलब्ध हुने उनको दाबी छ । उक्त सव–स्टेशनले करिब ८ एमभिए सम्मको लोड धान्न सक्ने प्राविधिकहरु बताउँछन् । जुन जिल्ला सदरमुकामको भन्दा उच्च क्षमताको हो । सदरमुकाममा रहेका सव–स्टेशनको क्षमता ६ एमभिए रहेको उनले वताए । ‘वृद्धि हुँदै गरेको लोडलाई मध्येनजर गरेर ठूलो क्यापासिटीको सव–स्टेशन राखिएको हो’ उनले भने ‘सरकारले जुन प्रदेश स्तरिय औद्योगिक क्षेत्र पालुङटारमा बनाउने भनेको छ त्यसका लागि यो महत्वपूर्ण छ ।’
औद्योगिक क्षेत्र निर्माण हुने भनिएको च्याङ्लीसम्म ११ केभि फिडर पुरयाइ सकिएको उनले बताए । सव–स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले छिटै औपचारिक रुपमा सञ्चालन ल्याउने कार्यालयको तयारी छ ।




