कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २४ गते । नेपालकै प्रसिद्व धार्मिक तिर्थ स्थल गोरखाको मनकामना मन्दिर बनाउनको लागि भएको खर्च एक कार्यक्रम बिच सार्वजनिक गरीएको छ । सार्वजनिक गरीएको खर्च अनुसार कर्मचारी, प्रशासनिक र मन्दिर गरेर १४ करोड ६४ लाख ८८ हजार ५ सय ५७ रुपैयाँ ९१ पैसा खर्च भएको छ ।
बिहीवार एक कार्यक्रम गरी मनकामना जिर्णोद्वार समितिले हिसाब सार्वजनिक गर्दै उत्त खर्च भएको जानकारी गराएको हो । हिसाब सार्वजनिक गर्दै समितिका कोषाध्यक्ष कृण्णबावु श्रेष्ठले मन्दिर निर्माणमा १३ करोड ४६ लाख ८० हजार ७ सय २० रुपैयाँ ५० पैसा, प्रशासनिक खर्च तर्फ ६२ लाख ४१ हजार ८ सय ८० रुपैयाँ ४१ पैसा र कर्मचारीको लागि ५५ लाख ६५ हजार ९ सय ५७ रुपैयाँ गरी कुल रेर १४ करोड ६४ लाख ८८ हजार ५ सय ५७ रुपैयाँ ९१ पैसा खर्च भएको हिसाब सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा मन्दिरको लागि आवश्यक पर्ने तेले इट्टा राजधानीका हिराकाजी महर्जन र मन्दिरको छानामा प्रयोग भएको तामाको पाता सुन्दरलाल खड्गी बाट प्राप्त भएको थियो भने मन्दिरमा प्रयोग भएको बिद्युतीय सामाग्री पोखरा स्थित कालु गुरुङ्गले निशुल्क रुपमा उपब्लध गराएको समितिले जानकारी दिएको छ ।
यता मन्दिर जिर्णोद्वारको लागि मात्रै श्रद्वालु भक्तजनबाट ११ करोड ५० लाख २७ हजार ९ सय ४९ रुपैयाँ ७१ पैसा उठाएको छ । त्यस्तै मनकामना मन्दिर क्षेत्र भित्र राखीएको चन्दा बाकसबाट मात्रै १ करोड ४५ लाख ८८ हजार ४ सय २८ रुपैयाँ ७३ पैसा संकलन भएको थियो भने बैंकमा राखीएको बैंक ब्याज मात्रै १ करोड २८ लाख ६ हजार ५ सय ९२ रुपैयाँ २४ आम्दानी भएको छ ।
त्यस्तै गरी नेपाल सरकारबाट ४ करोड, तामाको पातामा लगाएको सुनको जलपबाट निस्किएको सुनको धुलो बिक्रीबाट १२ लाख ३२ हजार १ सय १२ रुपैयाँ बैंकमा राखीदिएको गुप्त दान २ करोड ६ लाख ७६ हजार ३ सय ५३ रुपैयाँ २४ पैसा, दान प्राप्त सुन १८ लाख ६ सय ११ रुपैयाँ ५८ पैसा र संस्थागत सहयोग ६ लाख २८ हजार ६ सय ४५ रुपैयाँ गरी कुल १६ करोड ६७ लाख ६६ हजार ६ सय ९२ रुपैयाँ ५० पैसा मन्दिर जिर्णोद्वारको लागि आम्दानी भएको देखिन्छ ।
खर्च गरेर बाँकी रहेको कुल ५ करोड ८६ लाख ३३ हजार १ सय ९२ रुपैयाँ ७६ पैसा विभिन्न बैंकमा मौदात रहेको समेत समितिले जानकारी दिएको छ । उत्त रकमबाट अबको केही महिना भित्रै मन्दिर क्षेत्र भित्र रहेको धर्मशालाका साथै परेवा घर र अन्य संरचना तयार गर्ने समितिले सार्वजनिक गरेको छ ।
फाईल तस्बिर



