नरेन्द्र ढकाल/गोरखा
माघ २४ गते । राष्ट्रिय गौरबको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माणको काम तिब्र रुपमा भइरहेको छ । गोरखा जिल्ला भित्र पर्ने ६४ किलो मिटर मध्ये ३६ किलो मिटर सडक धमाधम काम भइरहेको छ भने २८ किलो मिटर सडक निर्माण समेत सुरु भएको छैन् । ‘आरुघाटको पुल देखि चेपेको पुल सम्म ६४ किलो मिटर सडक हेर्दा समग्रमा प्रगती राम्रै देखिन्छ’ उक्त सडकको स्थलगत अनुगमन पछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर क्षेष्ठले भने ‘पहिलो १३ किलोमिटर र अन्तिम ७ किलो मिटरको यसै वर्ष पिच हुने अबस्था छ ।’
गोरखा र धादिङको सिमानामा अवस्थित आरुघाटको पुलबाट तान्द्राङको ओख्लेसम्म १३.५ किलोमिटर पहिलो खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख रमेश दृष्ट्रिले जानकारी दिए । रसुवा इलाइट सूर्य जेभिले निर्माणको जिम्मा लिएको त्यहाँ ४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी ७.५ किलोमिटर चालु आर्थिक वर्ष भित्र कालोपत्रे गर्ने तयारी छ । ३.३ किलोमिटर सडक भने बुढीगण्डकी डुबानक्षेत्रमा पर्ने भएकाले काम स्थगित गरिएको छ । ‘डुबान क्षेत्रमा पर्ने ३.३ किमिमा काम भएको छैन’ आयोजना प्रमुख दृष्ट्रिले भने ‘बुढीगण्डकी बन्न टाइम लाग्ने भएकाले उक्त सडक पनि बनाउनु पर्छ भन्ने चर्चा भएको छ यदी त्यस्तो हो भने हामी रेडि नै छौं ।’ उक्त खण्डका लागि २५ करोड ४२ लाख बजेट बिनियोजन गरिएको छ ।
यसैगरी ओख्ले–निवेल खण्डको १६ किलो मिटर सडकमा ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाले दाबी गरेको छ । भौगोलिक रुपमा सबै भन्दा चुनौतिपूर्ण मानिएको उक्त खण्डमा यस आर्थिक वर्ष भित्र ग्राभेल सम्पन्न गर्ने तयारी छ । ‘यो खण्ड भौगोलिक रुपमा सबै भन्दा गा¥हो छ । यस वर्ष भित्र सबबेस सम्म गर्ने हाम्रो प्लान छ’ आयोजना कार्यालयका सूचना अधिकारी ई. विष्णुप्रसाद पाण्डेले भने ‘यदी हामीले पिच नै गरेयौं भने पनि बर्खामा धेरै भत्किने सम्भावना छ ।’ भिरालो सडक भएकाले वर्खाको पानीले भत्काउने सक्ने भन्दै आगामी वर्षको वर्खामा परिक्षण गरेर मात्र कालोपत्रे गर्ने कार्यालयको योजना छ । तिन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको उक्त खण्डको १ वर्ष समयावधी बाँकी रहेकाले तोकिएकै समयसिमामा काम सम्पन्न हुने उनले बताए । एपि/इसिसि/एससिएफ जेभि निमार्ण कम्पनीले बोलपत्र सकारेको त्यहाँ ३२ करोड ९१ लाख बजेट बिनियोजन गरिएको छ ।
सो खण्डमा मोटरेवल पुल समेत निर्माण भइरहेको छ । सूर्य रबिन जेभिले ७ करोड ७९ लाख लागतमा निर्माणको जिम्मा लिइएको जराङखोला पुलको ६० प्रतिशत निर्माण कार्य सकिएको पाण्डेले बताए । ३० मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न हुने सूर्य रबिन जेभिका प्रतिनिधिले जानकारी दिए । निबेल देखि पालुङटार खण्डको २८ किलोमिटर सडक भने अहिलेसम्म मध्यपहाडी लोकमार्गको जिम्मामा आइसकेको छैन । ११ किलो भालुस्वाराँ सडक आयोजनाको मातहतमा रहेको उक्त खण्ड मध्यपहाडीलाई नबुझाइएकाले त्यहाँको डिपिआर समेत हुन नसकेको आयोजना प्रमुख दृष्ट्रिले जानकारी दिए ।
त्यस्तै पालुङटार देखि चेपे पुलसम्मको ७ किलोमिटर सडक भने कालोपत्रको अन्तिम चरणमा पुगेको छ । ठाँटीपोखरी–पाउदी खण्डको १६ किलोमिटर मध्ये गोरखा भित्र पर्ने ७ किलोमिटरमा ग्राभेल गरी कालोपत्रे गर्ने अन्तिम तयारी भइरहेको आयोजनाका सूचना अधिकारी पाण्डेले बताए । ‘गोरखा खण्ड यो आर्थिक वर्ष भित्र कम्पिड हुन्छ’ उनले भने ‘लम्जुङ पट्टि भने केही समस्या छ । अर्को आ.व. सम्म त्यहाँको पुरा पुरा हुन्छ ।’ ३५ करोड ४४ लाख बजेट विनियोजन भएको त्यहाँ ७० प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त खण्डमा दुई वटा मोटरेवल पुल समेत निर्माण भइरहेको छ । शान्ती निर्माण सेवाले मिर्दिखोला र नाना कन्स्ट्रसनले बोहरे खोलामा पुल निर्माण गरिरहेका छन् । दुबै पुलको लम्बाई २० मिटर र चौडाई ११ मिटर छ । २ करोड ९५ लाख लागतमा ठेक्का स्वीकृत भएको उक्त पुलको ४० प्रतिशत काम पुरा भएको छ । यसैगरी ३ करोड २१ लाख लागतमा निर्माण सुरु भएको बोहरे खोला पुलको भने १५ प्रतिशत मात्र भौतिक प्रगती भएको छ । उक्त दुबै पुल चालु आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुने आयोजना कार्यालयको दाबी छ ।
निबेल–पालुङटार खण्डको २८ किलोमिटर बाहेक निर्माणाधिन सबै सडक आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने पाण्डेको भनाई । आयोजना निर्माणको लागि जग्गा व्यवस्थापन, निर्माण सामाग्रीको अभाव, सडक क्षेत्रका घरहरु हटाउनु पर्ने, विभिन्न ठाउँमा खोलिएका शाखा रोड लगायतका चुनौती रहेको उनले बताए । पाँचथरको चियोभञ्जाङ देखि बैतडीको झुलाघाटसम्म १ हजार ७५० किलोमिटरको उक्त सडक लम्जुङसँगको सिमाना चेपेबाट पालुङटार–निबेल–घ्याम्पेसाल–आरुघाट हुँदै बुढीगण्डकीबाट धादिङ जोडिनेछ । उक्त आयोजनाको निर्माण प्रगती बारे प्रमुख जिल्ला अधिकारी श्रेष्ठ नेतृत्वको जिल्लाका सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गरेको छ ।



