दीपक श्रेष्ठ/गोरखा
माघ २२ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढिगण्डकी जलबिद्युत आयोजनाले गोरखा तर्फका डुवान क्षेत्रका प्रभावितलाई थप १ अर्व ८ करोड मुआब्जा बितरण गरेको छ । आयोजनाले डुवान क्षेत्रमा पर्ने साविकका धावा गा.वि.सका प्रभाबितहरुको खातामा मुआब्जा रकम बितरण गरेको हो । ‘धावा देखि बालुवाटार सम्मका डुवान प्रभावितको खातामा रकम पठाइएका छौ,’ आयोजनाका पुर्नबास तथा पुनःस्थापना इकाईका प्रमुख कृष्ण कार्कीले भन्नुभयो,‘ कागजात पुगेका सवैको खातामा रकम पठाएका हौ ।’
आयोजनाले चालु आर्थिक बर्ष भित्र मुआब्जा निर्धारण भइसकेका सवै डुवान प्रभावितहरुलाई मुआब्जा बितरण गर्ने गरी काम अघि बढाएको उहाँले बताउनुभयो । आयोजनाले मुआब्जा बितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितहरुको खातामा समेत रकम पठाईसकेको जानकारी दिनुभयो । आयोजनाले यो पटक ५ सय २५ जना डुवान प्रभावितको खातामा मुआब्जा रकम पठाएको आयोजना प्रमख कार्कीले बताउनुभयो ।
इकाई प्रमुख कार्कीले डुवान क्षेत्रका प्रभावितहरुलाई मुआब्जा बितरण गर्न आयोजनाको खातामा १८ अर्ब रकम प्राप्त भएको र सो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई बितरण गर्न पुग्ने अनुमान रहेको बताउनुभयो । त्यस्तै डुवान प्रभावित क्षेत्रमा घरगोठ, फलफुल र बोट बिरुवाको तथ्याङक संकलनको काम समेत अघि बढाइएको उहाँको भनाई छ ।
डुवान क्षेत्रमा फलफलु बोटबिरुवा घरगोठको लगत संकलनमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालिम प्रदान गरिसकिएको इकाई प्रमुख कार्कीले बताउनुभयो । ‘मुअब्जा निर्धारण भएका सवै क्षेत्रमा जमिनको मुआब्जा बितरणको काम सकिनै लागेको छ, कार्कीले भन्नुभयो ‘अब हामीले यसै बर्षदेखि नै घरगोठ, फलफुल र बोटबिरुवाको पनि मुआब्जा बितरण गर्न लागत संकलनको काम शुरु गर्न लागेका छौ ।’



