गोरखा समाचारदाता
गण्डकी प्रदेशले आवश्यक नियम कानून निर्माणको कामलाई तदारुकता दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बताएका छन् । तनहुँको आँबुखैरेनीमा बिहीबारबाट सुरु आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ उद्घाटन गर्दै उनले नयाँ व्यवस्थामा रहेकोले केही नीतिगत अन्यौलता हुनु स्वभाविक भएपछि उक्त अबस्था अब नरहने दाबी गरेका हुन् । ‘हामी ठूलो राजनितिक परिवर्तन पनि यो नयाँ व्यवस्थामा छौं । केही समस्याहरु त छन नै’ उनले भने ‘आवश्यक ऐन कानूनहरु निर्माण चरणमा छन्, अब सबै कुरा हल हुँदै जान्छ ।’
गण्डकी प्रदेशले बिकास र समृद्धिलाई मुख्य जोड दिएको भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मेला महोत्सवले महोत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । यसको माध्यमबाट जनजातीहरुको आफ्नो भाषा, संस्कार, संस्कृतिको जर्गेना सके मात्र महोत्सवले सार्थकता पाउने उनको भनाई छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषद्का अध्यक्ष रेशम भूजेलको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय सघं सस्थाका प्रमुख एवं प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
“अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मूल नाराका साथ आँबुखैरेनी–३, सैबोटेमा नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषदको आयोजनामा सुरु भएको महोत्सवमा १ सय ४६ वटा स्टल रहेका छन । महोत्सव अवधिभर १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाहरुको प्रस्तुती, स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, धार्मिक एवंम पर्यटकीय स्थलको अवलोकन, कौंरा प्रतियोगिता, रमाईलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता लगाएत महोत्सवको मुख्य आर्कषण रहेका छन् । यसैगरी, भोलि लोकदोहरी गायक सन्तोष आले, लोकदोहरी गायिका तारा गदाल, चिना थापा लगाएत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
आगामी माघ २७ गते सम्म संचालन हुने महोसत्वको पहिलो दिन ६ लाख रुपैंया बराबरको आर्थिक कारोबार गरेको र झण्डै ३० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता मिलन भूजेलले जानकारी दिए ।


