दिपक श्रेष्ठ/गोरखा
माघ १६ गते । बिगत ३८ महिनादेखि बन्द रहेको नेपालको एकमात्र गोरखकाली रबर उद्योगका कर्मचारी र मजुदरहरुलाई अनिबार्य अबकासको जानकारी दिइएको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव शोभकान्त पौडेल नेतृत्वको टोलीले उद्योगको मूल गेटमा सूचना टाँस गरी अबकासको निर्णय बारे शनिबार जानकारी गराएको हो ।
गोरखा नगरपालिका–१३ स्थित देउरालीमा रहेको रबर उद्योग लामो समयसम्म बन्द हुदा त्यहाँका रहेका कर्मचारी र मजदुरहरु दैनिक हाजिर गरेर मात्र फर्कने गरेका थिए । नेपाल सरकार मन्त्री परिषद् बैठकको निर्णय अनुसार उद्योगमा रहेका सवै कर्मचारी र मजदुरलाई अनिबार्य अबकासको बारेमा उद्योग प्रशासनले जानकारी गराएको हो ।
टोलीले शनिबार उद्योगका कर्मचारी र मजदुरलाई बोलाएर अवकाशपछि सरकारले उपलब्ध गराउने सेवा सुबिधा बारेमा समेत उहाँहरुलाई जानकारी गराएको छ । लामो समयसम्म जागिर भएर पनि काम बिहिन बनेका उद्योगका कर्मचारी र मजुदुरहरु पनि सेवा सुबिधा सहित अनिबार्य अबकास पाउने भएपछि खुशी भएका छन् ।
‘बिहान आयो हाजिर गरेर फर्कियो, उद्योग चल्ला कि नचल्ला भन्ने सधै दुबिधा हुन्थ्यो,’ उद्योगमा कार्यरत अमृत बहादुर दराईले भन्नुभयो,’ अब सेवासुबिधा सहित अबकास पाइने भएपछि हामीलाई पनि ढुक्क भएको छ ।’ छलफलमा मन्त्रालयको टोलीसंग कर्मचारी र मजुदरहरुले सकेसम्म छिटो तलब भत्ता र सेवा सुबिधा उपलब्ध गराइदिन पनि माग गरेका छन् ।
गोरखकाली रबर उद्योगमा हाल २ सय ४१ जना मजदुरहरु रहेका छन् । उनीहरु सवैलाई अनिबार्य अबकास दिदा करिव ९५ करोड रुपैया लाग्ने मन्त्रालयले अनुमान गरेको सहसचिव पौडेलले जानकारी दिनुभयो । मन्त्रालयले आफुहरुलाई तीन किस्तामा सेवासुबिधा उपलब्ध गराउने जानकारी गराएको मजदुरहरुको भनाई छ । उद्योग २०७१ चैत २३ देखि बन्द भएको थियो ।



